• १७ असार २०८१, सोमबार

पशु कल्याण ऐन छिट्टै ल्याउन जोड

blog

काठमाडौँ, असोज १५ गते ।  मस्यौदाका रूपमा रहेको पशु कल्याण ऐन चाँडै कार्यान्वयनमा ल्याउन जोड दिँदै सरोकारवालाले पशुलाई रक्षा र उसको कल्याणका लागि कडा कानुन बनाउने कुरामा जोड दिएका छन् । 

विश्व पशुपन्छी दिवस २०८० का अवसरमा ‘स्नेहा केयर’ र ‘नेपाल फार्मिङ एडभाइजरी काउन्सिल’ को सहयोगमा पशु सेवा विभागले आइतबार आयोजना गरेको ‘पशु कल्याण तथा पशु ढुवानी मापदण्ड कार्यान्वयनको अवस्था’ विषय अन्तव्रिर्mया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका छन् । 

पशु ढुवानीका लागि बनेका निर्देशिका तथा मापदण्ड अनुसार ढुवानी नभइरहेको गुनासो गर्दै उनीहरूले पशु ढुवानीमा मापदण्ड र निर्देशिका अनुसार कडाइ गर्न आग्रह गरेका छन् । नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष डा. व्रजकिशोर साहले पशु कल्याण र उसको रक्षाका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । 

पशु कल्याणका लागि थुप्रै काम भएको बताउँदै उहाँले त्यसमा अझै थुप्रै काम गर्न बाँकी छ, त्यसका लागि पशु कल्याण ऐन छिट्टै ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । “पशु ढुवानीमा केही समस्या देखिएका छन्, त्यसलाई सुधार गर्ने प्रयास भइरहेका छन् तर समाधानै गर्ने गरी काम गर्नका लागि ऐन नै ल्याउनुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “पशु कल्याणका लागि पशु चिकित्सकले पनि कार्य गरिरहेका छन् ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. सूर्यप्रसाद पौडेलले पशु कल्याण ऐन आएपछि पशु ढुवानीलगायत अन्य थुप्रै समस्या समाधान हुने दाबी गर्नुभयो । पशु ऐन मस्यौदाकर्तासमेत रहनुभएका उहाँले पशु कल्याणका लागि थुप्रै कुरा त्यसमा समेटिएका र सो ऐन तयार भएर कसरी छिटो कार्यान्वयनमा ल्याउन सकिन्छ, त्यसमा सबैले जोड दिनुपर्ने बताउनुभयो । 

ऐनको मस्यौदा तयार भइसकेको र मन्त्रालयमा छलफलका क्रममा रहेको जानकारी गराउँदै उहाँले पशु ढुवानी व्यवस्थित गर्न नियमन आवश्यक रहेको कुरामा जोड दिनुभयो । पशु ढुवानी गर्ने साधनका बारेमा पनि छुट्टै मापदण्ड बनाउने आवश्यकता रहेको बताउँदै उहाँले ऐन न हुँदा कडा कारबाही पनि गर्न सकिएको छैन भन्दै निर्देशिका र मापदण्डले मात्र कारबाही गर्न नसकिने बताउनुभयो । 

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पशु कल्याण ऐन छलफलका क्रममा रहेको र त्यसलाई अन्तिम रूप दिई चाँडै नै कार्यान्वयनमा ल्याइने बताउनुभयो । मस्यौदामाथि विभिन्न सरोकारवाला तथा तहमा छलफल चलिरहेको बताउँदै उहाँले ऐन आइसकेपछि पशु कल्याणका सबै कुरा समाधान हुँदै जाने बताउनुभयो ।

पशु ढुवानीको विषयमा निर्देशिका तथा मापदण्ड कार्यान्वयनमा छन्, त्यसलाई सफल कार्यान्वयनका लागि एउटा विभाग वा कुनै एउटा निकायले मात्र नसकिने बताउँदै उहाँले यसमा सबैको साथ र सहयोग चाहिने बताउनुभयो । 

पशु सेवा विभागका उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले ‘पशु ढुवानी मापदण्ड कार्यान्वयनको अवस्था’ का बारेमा कार्यपत्र प्रस्तुत गर्दै पशु ढुवानीको मापदण्डको विषयमा प्रधानमन्त्री कार्यालयले पनि चासो लिएको छ, त्यसबारेमा विभागले प्रस्तुति दिएर सबै कुराको जानकारी गराएको बताउनुभयो । पशु ढुवानीको क्षेत्र बिस्तारै सुधारको अवस्थामा रहेको बताउँदै उहाँले आवश्यक जनशक्ति नरहेका कारण त्यसमा सोचे जस्तो काम गर्न नसकिएको बताउनुभयो । 

मापदण्ड अनुसार पशु ढुवानी नगर्दा पाँच हजार जरिबानाको व्यवस्था छ, व्यापारी पाँच हजार जरिबाना तिर्न तयार हुन्छन् तर मापदण्ड अनुसार ढुवानी गर्न तयार नभएको उहाँले बताउनुभयो । कडा सजाय नभएका कारण ढुवानीमा लापरबाही भइरहेको उहाँले बताउनुभयो । 

स्नेहा केयरका स्नेहा श्रेष्ठले ‘पशु कल्याण तथा पशु ढुवानी मापदण्ड कार्यान्वयनको अवस्था’ बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै पशु ढुवानीको क्षेत्रमा निकै लापरबाही भइरहेको गुनासो गर्नुभयो । मापदण्ड हुँदाहुँदै पनि व्यापारीले पशुलाई मापदण्डविपरीत गाडीमा राखेर जथाभाबी ढुवानी गरिरहेको गुनासो उहाँले गर्नुभयो । पशु ढुवानीमा सरकारले पनि कडाइ साथ प्रस्तुत नभएको उहाँको गुनासो थियो ।