चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङका ज्येष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण गरिएको छ । आइतबार ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो सिरक वितरण गरेको हो ।
खाम्लुङका वडाध्यक्ष गजिन्द्रकुमार नाल्बो लिम्बूकाअनुसार वडाभित्रका ६८ वर्षमाथिका ३२ जना पुरुष र २८ महिला गरी ६० जना ज्येष्ठ नागरिकलाई खादा र अबिर लगाएर सम्मान गरिएको छ ।
सम्मानित हुनेमा सबैभन्दा बढी उमेरका पुरुषतर्फ ८८ वर्षीय हिमालसिंह नाल्बो र महिलातर्फ ७७ वर्षीय बुधरानी लिम्बू रहनुभएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
यस्तै, ज्येष्ठ नागरिकलाई सम्मानसँगै उहाँहरूलाई एक–एक वटा न्यानो सिरक वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गाबहादुर श्रेङचोङ्बाङको उपस्थितिमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाबाट विनियोजित एक लाख रुपियाँ रकम खर्चिएर वडावासी ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम सम्पन्न गरिएको पनि वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।