• ३ असार २०८१, सोमबार

भुक्तानी नपाएपछि विद्यालयमा तालाबन्दी, पठनपाठन अवरुद्ध

blog

तालाबन्दी गरिएको जनज्योति आधारभूत विद्यालय । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, असोज १४ गते ।
 रुकुमपश्चिमको एक सामुदायिक विद्यालयमा ताला लगाइएको छ । सानीभेरी गाउँपालिका–७ फुक्रुमा रहेको जनज्योति आधारभूत विद्यालय ताला लगाइएको हो ।

विद्यालय भवन निर्माण गर्दा लिएको निर्माण सामग्रीको भुक्तानी नपाएपछि व्यवसायीले ताला लगाएका हुन् । सानीभेरी हार्डवेयरका सञ्चालक मनीषा बिसी ओलीले २०७५ सालमा विद्यालय भवन निर्माणका लागि लिएको सामग्रीको भुक्तानी नपाएकाले तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो । समितिले लगेका सरिया, सिमेन्ट, रङ लगायतका निर्माण सामग्रीको रकम विद्यालयले अहिलेसम्म पनि भुक्तानी नगरेको उहाँको भनाइ छ ।

विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । यस अघि पनि ताला लगाउन खोज्दा गाउँपालिका र स्थानीयले केही दिनमा रकमको व्यवस्था गर्ने आश्वासन दिए पनि अहिलेसम्म रकम नपाएपछि विद्यालयमा ताला लगाइएको हार्डवेयर सञ्चालक ओलीले जानकारी दिनुभयो । रकम नपाएसम्म तालाबन्दी नखोल्ने उहाँको अडान छ ।

विद्यालयको भवन निर्माणमा केही रकम पहिले दिए पनि करिब नौ लाख रकम बाँकी रहेको र हालसम्म ब्याज जोडेर १४ लाख ९० हजार रुपियाँ पुगेको उहाँको भनाइ छ ।

विद्यालयको गेटमा ताला लागेपछि अहिले शिक्षक र विद्यार्थीहरू गेटबाहिर रहेको प्रधानाध्यापक भीमबहादुर ओलीले बताउनुभयो । कक्षा ५ सम्म सञ्चालन भएको उक्त विद्यालयमा ५० जना विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।

प्रधानाध्यापक ओलीका अनुसार सानीभेरी हार्डवेयरबाट जम्मा नौ लाख ९७ हजारको निर्माण सामग्री खरिद गरेको र चार लाख रुपियाँ तिरिएको छ । हाल ब्याज जोडेर धेरै रकम भएको उहाँको भनाइ छ । प्रधानाध्यापक ओलीले विद्यालय भवन निर्माणको जिम्मा लगेको खड्का एण्ड केसी निर्माण सेवालाई पनि करिब छ लाख रुपियाँ तिर्न बाँकी रहेको र पटक–पटक उक्त निर्माण व्यवसायीले पनि विद्यालय बन्द गर्ने चेतावनी दिइरहेको बताउनुभयो । भवन निर्माणका लागि आएको बजेट जग्गा खरिदमा खर्च भएपछि पूरा रकम भुक्तानी हुन नसकेको बताइएको छ ।