• ११ असोज २०८१, शुक्रबार

पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा समस्या

blog

रेखीराम राना 

पाल्पा, असोज १४ गते । पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा समस्या देखिएको छ। सङ्ग्रहालयका लागि आवश्यक कर्मचारी नभएपछि सङ्ग्रहालयलाई नियमित सञ्चालन गर्न समस्या भएको हो। 

सङ्ग्रहालयका लागि माली, सरसफाइकर्मी तथा सुरक्षाकर्मी आवश्यक भए पनि यी पदमा दरबन्दी स्वीकृत भएको छैन। लुम्बिनी प्रदेश सरकारले चालु आव २०८०/८१ मा एक जना अधिकृतसहित छ जनाको दरबन्दी स्वीकृत गरेको छ। स्वीकृत दरबन्दीमा माली, सुरक्षाकर्मी र सरसफाइकर्मीको दरबन्दी छैन। यसले दरबार सङ्ग्रहालय नियमित सञ्चालन गर्न समस्या भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ। 

प्रदेश सरकारबाट स्वीकृत दरबन्दीमा माली, सरसफाइकर्मी र सुरक्षाकर्मी व्यवस्था नहुँदा सङ्ग्रहालय सञ्चालन गर्न समस्या भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो। उहाँले भन्नुभयो, “दरबार सङ्ग्रहालयमा जुन पदमा कर्मचारी आवश्यक हो, सो अनुसार स्वीकृति भएन। त्यसैले सरकारलाई पुनः सच्याउन आग्रह गरेका छौँ।”

पाँच वर्षअघि दरबार सङ्ग्रहालयमा टिकट काट्न, सरसफाइ गर्न, बगैँचा गोडमेल र रेखदेख गर्न तथा सङ्ग्रहालयभित्र रहेको नेपाली सेनाको सैनिक सङ्ग्रहालय सुरक्षाका लागि कर्मचारीको व्यवस्था गरिएको थियो। ती कर्मचारीलाई परामर्श सेवाबाट मासिक ज्यालादारीमा कामकाजमा लगाइएको छ। सोही कर्मचारीबाट बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सङ्ग्रहालय खुल्ने व्यवस्था गरिएको वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिनुभयो। ती कर्मचारीलाई तत्काल हटाउन प्रदेश सरकारले निर्देशन गरेपछि सङ्ग्रहालय सञ्चालन गर्न अप्ठ्यारो भएको उहाँको भनाइ छ। 

प्रदेश सरकारबाट स्वीकृत दरबन्दी अनुसार मात्रै कर्मचारी आएमा सरसफाइ, फूलबारी सजावट, सैनिक सङ्ग्रहालय सुरक्षामा समस्या हुने जिल्लास्थित सरोकारवालाको भनाइ छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले दरबार सङ्ग्रहालयका लागि आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। स्वीकृत भएका अधिकृत, सुब्बा, लेखा र कार्यालय सहयोगीले सङ्ग्रहालय सञ्चालन गर्न गाह्रो हुने उहाँले बताउनुभयो।