• १३ मंसिर २०८१, बिहिबार

चौथो पुलचोक कपको उपाधि रिडर्सलाई

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज १४ गते । चौथो पुलचोक कपको उपाधि रिडर्स पब्लिक हाई स्कुल तम्घास गुल्मीले उचालेको छ । पुलचोक स्पोर्ट्स क्लब तम्घासको आयोजनामा पाँचौँ वार्षिकोत्सवको अवसरमा सञ्चालित जिल्लास्तरिय छात्रा फुटबल प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयलाई ४–० गोलले हराउँदै रिडर्स पब्लिक हाई स्कुलले उपाधि जितेको हो । 

सेमिफाइनलबाट अर्जुन आवासीय माध्यमिक विद्यालयलाई पेनाल्टी सुट आउटमा ६-५ ले पराजित गर्दै महेन्द्र माध्यमिक विद्यालय फाइनलमा पुगेको थियो । सिद्ध बाबा माध्यमिक विद्यालयलाई पेनाल्टी सुट आउटमा ४-१ ले पराजित गर्दै रिडर्स पब्लिक हाई स्कुल फाइनलमा पुगेको थियो । 

रिडर्स पब्लिक हाई स्कुलका खेलाडीले लगातार चार गोल गरेसँगै रिडर्सले चौथो पुलचोक कप प्राप्त गरेको क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिनुभयो । दुवै विद्यालयका खेलाडी पुलचोक कपमा पहिलो पटक फाइनलमा पुगेका हुन् । उपाधिसँगै रिडर्स पब्लिक हाई स्कुलले ३० हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता महेन्द्र माध्यमिक विद्यालयले २० हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा वेस्ट डिफेन्डर रिडर्स पब्लिक हाई स्कुलका छात्रा दृष्टि पुन बन्नुभयो । सोही विद्यालयकै छात्रा कृतिका पचभैया प्लेयर अफ दी टुर्नामेंट, वर्षा कुँवर उत्कृष्ट गोलरक्षक र सिमरन खत्री एक्ट्राक्टिभ खेलाडी बन्नुभयो । अर्जुन आवासीय माध्यमिक विद्यालयका छात्रा आकृति पुन सर्वाधिक गोल कर्ता बन्नुभयो । इमरजिङ प्लेयर महेन्द्र माध्यमिक विद्यालयका छात्रा सृजना मरासिनी बन्नुभयो । अनुशासित टोलीको पुरस्कार अर्जुन आवासीय माध्यमिक विद्यालयले प्राप्त गरेको छ । रिडर्स पब्लिक हाई स्कुलका कल्याण भुजेल वेस्ट कोच बन्नुभयो । 

सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमा असोज १० गतेदेखि १३ गतेसम्म सञ्चालन भएको विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगितामा जिल्लाभरका ११ विद्यालयले भाग लिएका थिए । 

त्यस अवसरमा पुरस्कार वितरण गर्नुहुँदै रेसुङ्गा नगरपालिका नगरप्रमुख खिल ध्वज पन्थीले खेलकुदको विकासका लागि नगरपालिका सधैँ तत्पर रहेको भन्दै छिट्टै नै मेयर कपको आयोजना गर्ने बताउनुभयो । खेलकुदले अनुशासनमा बस्न सिकाउने र स्वस्थ राख्ने भएकाले मानव जीवनका लागि खेलको महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रतियोगिताको माध्यमबाट भोलिको दिनमा गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने समेत उहाँले बताउनुभयो ।