काठमाडौँ, असोज १२ गते । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रुपियाँ ठगी गर्ने एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइ दिने र त्यसका लागि तीन लाख पाँच हजार लाग्ने एवं दुबई पुगेपछि बाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक-पटक गरी तीन लाख रकम लिई ठगी गरेको आरोपमा आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । भट्टराईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रासस