• ६ जेठ २०८१, आइतबार

विमल गुरुङ कृति पुरस्कारका लागि २१ कृति सार्वजनिक

blog

निशा राई
धरान, असोज १२ गते ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०७९ सालको प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट एक कृतिलाई दुई लाख नगद राशी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने भएको छ ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयको ५२ औँ जन्मजयन्ती र राष्ट्रिय कविता महोत्सव २०८० को अवसरमा २०७९ मा प्रकाशित कृतीमध्ये उत्कृष्ट कृतिलाइ दुई लाख रुपियाँ  राशीको ’विमल गुरुङ कृति पुरस्कार २०७९’ र उत्कृष्ट तीन कवितालाई प्रथम, दोस्रो, तेस्रो गरी क्रमशः २१ हजार रुपियाँ, १८ हजार रुपियाँ र १७ हजार रुपियाँ र प्रमाणपत्र राष्ट्रिय कविता महोत्सव २०८० को अवसरमा  प्रदान गरिने भएको छ ।

शुक्रबार धरान बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक १९ गते विमल गुरुङ कृति पुरस्कार २०७९ का लागि प्राप्त एक सय एक कृतिमध्येबाट पुस्तकालयले उत्कृष्ट २१ कृति छनोट गरीएको र राष्ट्रिय कविता महोत्सव २०८० का लागि प्राप्त ७४ कवितामध्ये उत्कृष्ट १० कविता छनोट गरिएको पुस्तकालयका संरक्षक एवम् अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो ।


उहाँले राष्ट्रिय कविता प्रतियोगिताका लागि प्राप्त ७४ कवितामध्ये उत्कृष्ट १० कविताहरु अविनाश भट्टराईको ‘आवाजहरु ओ आवाजहरु’, अजित वियोगीको ‘म त्यहीँ छोडिएछु’, एलिसा एकलासको ‘बेवारिसे प्रश्न’, छविना लुङ्गेली मगरको ‘मजदुर’, निशान निष्कर्षको ‘स्वतन्त्रताको एउटा अध्याय’, भीम विरही राईको ‘पहिला म मरूँ या मेरो देश’, मौलश्री लिम्बूको ‘बुख्याँचा’, वीरेन्द्र ग्यावा तामाङको ‘इजार’, सन्ध्या सिङ्जाङ्गो सुब्बाको ‘अन्तिम लडाइँ’ र भोजराज श्रेष्ठको ‘यो साइनो कस्तो’ कविता छनोट भएको जानकारी दिनुभयो ।

यसैगरी ‘विमल गुरुङ कृति पुरस्कार २०७९’ को प्रतियोगिताका प्राप्त एक सय एक कृतिमध्ये २१ कृतिहरु युद्ध सौन्दर्य चिन्तनः मानव सभ्यताको दर्शन, सुदूर विस्मृतिका विम्बहरु’ (संस्मरण सङ्ग्रह), रैथाने’(उपन्यास), झुमर (उपन्यास), मद्वारा मेरो निर्माण (कवितासङ्ग्रह), परिवर्तित अनुहार (उपन्यास), झ्यालिन्चा (कवितासङ्ग्रह), रसिया राग (कवितासङ्ग्रह), आतो ओडा (उपन्यास), प्रमिथसको फिलिङ्गो   (कवितासङ्ग्रह), जब एउटा मान्छे हराउँछ (कवितासङ्ग्रह), चिसो बाफ (उपन्यास), मामा (कथासङ्ग्रह),सन्तापको धुन (कथासङ्ग्रह), जङसन पीपलबोट नयाँ सडकको कथा(गैर ख्यान), मित्याङ्सा (उपन्यास), प्रतिवहन (कथासङ्ग्रह), समय स्वर (कवितासङ्ग्रह), दुख्नु उत्तिकै छ (कथासङ्ग्रह) माटाको घर (उपन्यास), बेलायती नेपाली डायास्पोरिक नेपाली कविता छनोट भएको छ ।

सोही अवसरमा कालेबुङ भारतका कवि विशाल नाल्बोलाई ‘विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान २०८०’ प्रदान गरिने पुस्तकालयका संरक्षक एवम् अध्यक्ष गुरुङले बताउनुभयो उहाँले हाल पुस्तकालयमा नेपाली, अङ्ग्रेजी, हिन्दीलगायत स्थानीय भाषाभाषीका ९७ हजार १२४ थान पुस्तक रहेका जानकारी दिनुभयो ।