• २४ वैशाख २०८१, सोमबार

१९औं एसियाड : पब्जी टोली सेमिफाइनलमा

blog

नेपालको पब्जी टोली ।

हाङझाउ, असोज १२ गते । नेपाल चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत इस्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धाको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको समूहबाट हङकङ पनि सेमिफाइनलमा पुगेको छ । नेपालले प्रतिस्पर्धा गरेको समूहमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए । हङकङ शीर्षस्थानमा रहँदा नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्न सफल भयो ।

हङकङको ५१ मिनेट ०९.९८३ सेकेन्ड, नेपालको ५४ मिनेट ०४.८४२ सेकेन्ड, प्यालेस्टाइनको एक घन्टा ४९.५२७ सेकेन्ड र साउदी अरेबियाको एक घन्टा ३ मिनेट ४५.१०७ सेकेन्डको समय रह्यो । 

यस्तै समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगेका छन् । समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

अब चार समूहका शीर्ष दुई टोलीबीच दूई समूहमा सेमिफाइनल हुनेछ। सेमिफाइनलको दुवै समूहमा चार–चार टोलीबिच प्रतिस्पर्धा हुनेछ । 

यी मध्ये समूहका दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल चरणमा पनि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। जसमध्ये शीर्ष तीनमा रहने टोलीको पदक पक्का हुनेछ । 

विस्तारै पदकको आशा जगाएको पब्जीमा नेपालको खेलाडीमा कप्तान सुविन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई हुनुहुन्छ । टोलीको व्यवस्थापकमा भिक्टर पौडेल रहनुभएको छ ।