• १४ मंसिर २०८१, शुक्रबार

आँधीखोलामा घट्यो यातायात कर

blog

आँधीखोला गाउँपालिका ।

अर्जुन काफ्ले
स्याङ्जा, असोज १२ गते ।
आँधीखोला गाउँपालिकाको सेतीदोभानमा यातायात व्यवसायीहरुसँग लिइँदै आएको स्थानीय यातायात शुल्क हटेको छ । जिल्ला प्रशासन कार्यालयले सडकमा शुल्क उठाउनु गैर कानुनी भएको भन्दै हटाउन पत्राचार गरेसँगै पालिकाले पत्र पाएको दोस्रो दिनमै कार्यान्वयन गरेको हो ।

यातायात व्यवसायीहरुले यातायात कर तिर्नुपर्दा आफूहरु पीडित भएको भन्दै प्रशासनमा उजुरी गरेका थिए । नेपालको संविधान धारा २२८ (१) मा कानुन बमोजिमबाहेक स्थानीय तहमा कुनै कर लगाउन र उठाउन पाइने छैन भन्ने व्यवस्था रहेकाले उक्त सडकमा सडक संरक्षण तथा मर्मत सम्हार शुल्कको नाममा कुनै कर उठाउन नमिल्ने भन्दै प्रशासन कार्यालयले पालिकालाई पत्राचार गरेको थियो ।

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शोभाखर पोखरेलले हस्ताक्षरित पत्र असोज ८ गते पालिकामा पठाइएको थियो । यहि असोज ९ गने पत्र पाएसँगै १० गतेबाट पालिकाले कार्यान्वयनमा ल्याएको हो ।

पालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा २ को खण्ड घ उपखण्ड २ को अधिकार प्रयोग गरी स्थानीय पूर्वाधार तथा सेवा शुल्क उठाइएको थियो ।

सडक गाउँपालिकास्तरीय सडकमात्र भएर अन्तर जिल्ला जोड्ने सडक रहेकाले नेपालको संविधान तथा प्रचलित अन्य प्रमाणका आधारमा समेत उक्त कार्य अनुपयुक्त रहेको पत्रमा बताइएको छ ।

सडकको निर्माण सम्पन्न खण्ड र निर्माणाधीन खण्ड गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जामार्फत निर्माण भएको र सेतीदोभान सिरुबारी सडकखण्ड सडक डिभिजन कार्यालय पोखराले निर्माण गरेकाले स्थानीय पूर्वाधार भनी शुल्क लिने कुरा कानुनसम्मत नभएको पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष विश्व पौडेलले जिल्ला प्रशासनको अनुरोधको सम्मानमा अहिलेलाई यातायात शुल्क रोकिएको बताउनुभयो ।

स्थानीय सरकारको क्षेत्र अधिकारभित्र जिल्ला प्रशासन कार्यालयले हस्ताक्षेप गरी सङ्घीयताको विरूद्ध चुनौती खडा गरेकाले पालिका आवश्यक कानुनी उपचारमा लाग्ने र अधिवक्तासँग छलफलमा रहेको पौडेलले बताउनुभयो ।

पालिकाले यहाँका नागडाँडा कार्किनेटा र सेतीदोभान सिरुबारी सडकमा गत साउन १ गतेबाट यातायात कर उठाउँदै आएको थियो ।