• २१ असार २०८१, शुक्रबार

क्रिकेट कीर्तिमान

blog

चीनमा जारी १९ औँ एसियाली खेलकुद (एसियाड) मा इतिहासमै सबभन्दा धेरै खेलाडी सहभागी गराएको नेपालले पदकको आशा गरिएका तेक्वान्दो, बक्सिङ, जुडो, उसु जस्ता खेलमा पनि निराश बन्नु परेको विडम्बना छ । एसियाडमा नेपालले पहिलो पटक २९ खेलमा २५३ खेलाडी सहभागी गरायो तर खेलका पदक धेरै खेलाडीका निम्ति आकाशको फल भए  । प्रतिस्पर्धामा उत्कृष्ट कौशल प्रदर्शन हुनु पर्छ । पर्याप्त राष्ट्रिय लगानी, तयारी, अभ्यासबाट खारिएका अन्य देशका खेलाडीसामु कम लगानी, अभ्यास र प्रोत्साहनको अभावमा नेपाली खेलाडी कमजोर देखिनु स्वाभाविक नै ठान्नु पर्छ । अधिकांश प्रतिस्पर्धाका प्रारम्भिक चरण नै पार गर्न नसकेको अवस्थामा क्रिकेट खेलाडी टोलीले चाहिँ आशाको दीप जगाएको छ । राष्ट्रध्वजा उँचो पार्ने यत्न गरेको छ ।

एसियाडको पाँचौँ दिन बुधबार नेपालको पुरुष क्रिकेट टोलीले विश्व कीर्तिमानी जित हात पा¥यो । नेपालले मङ्गोलियामाथि २७३ रनको विश्व कीर्तिमानी जित निकालेको हो । जितका लागि ३१५ रनको विश्व कीर्तिमानी विशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा सबै विकेटको क्षतिमा ४१ रनमा समेटिएको थियो । नेपालको यो विश्व टी–२० क्रिकेटमा कीर्तिमानी ठुलो स्कोर र जित हो । यसअघि कुनै पनि टोलीले तीन सय रन छोएको थिएन । यसै गरी एकै खेलमा २६ छक्का हान्न सक्नु अनि दीपेन्द्रसिंह ऐरीले नौ बलमै अर्धशतक बनाउनु ठुलो कुरा हो । त्यस्तै कुशल मल्लले ३४ बलमै शतक बनाउन सक्नु कीर्तिमानी परिणाम भएका छन् । यसो त पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० खेलेको कमजोर मङ्गोलियालाई हराउनु नेपाली टोलीका लागि ठुलो कुरा होइन तथापि यो जितले नेपाली क्रिकेट सामथ्र्य प्रस्तुत गरेको छ । तथापि यो सफलता नै पर्याप्त होइन, अब नेपाली टोलीले अघिल्ला चरणमा उच्च मनोबलयुक्त स्पर्धा गरी पदक हात पार्न प्रयास गर्नुपर्ने छ । विश्व च्याम्पियन भइसकेकाहरूसँगको प्रतिस्पर्धामा नतिजा जे त होला, नेपालले राम्रो खेलेर सम्मानजनक हैसियत पक्कै देखाउने छ भन्ने विश्वास नेपाली खेलप्रेमीमा छ । 

पक्कै पनि नेपाली खेलाडीले नेपाल भविष्यमा क्रिकेट शक्ति बन्न सक्ने आभा चम्काएका छन् । गत वैशाखमा घरेलु मैदानमा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा चयन भएको थियो । विश्व क्रिकेटमा चम्किएका भारत, पाकिस्तानसँग टक्कर लियो एसिया कपमा । नेपालले ती क्रिकेट महाशक्ति समूहलाई हराउन सकेन तर अनुभव हासिल ग-यो, प्रतिस्पर्धी क्षमता बढायो । नेपाली टोलीका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, सोमपाल कामी जस्ता आत्मविश्वासी खेलाडी प्रोत्साहित भए । 

यसो त विगतमा सरकार एवं निजी क्षेत्रबाट समेत घोषित विभिन्न पुरस्कारबापतको रकम अझै हात नपारेको गुनासोसहित चीनतर्फ प्रस्थान गरेको थियो नेपाली टोली । खेलाडीलाई लोभ्याउने, उक्साउने तर पुरस्कार रकम दिन आलटाल गर्ने प्रवृत्ति लज्जास्पद छ । त्यसले खेलाडीलाई प्रोत्साहन होइन, निराशा दिन्छ । वास्तवमा भविष्यको आभा जगाइरहेका क्रिकेट खेलाडीलाई प्रोत्साहनसहित उच्च प्रतिस्पर्धी क्षमतामा पु-याउन नवनिर्वाचित क्रिकेट सङ्घ नेपाल (क्यान) मरिमेट्नु आवश्यक छ । क्यानको नेतृत्व टोलीमा पूर्वखेलाडी पारस खड्कासमेत पुग्न सफल भएको परिप्रेक्ष्यमा अब क्यान विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट आर्थिक लाभ लिएर गर्जो टार्ने ध्याउन्नबाट मुक्त हुने छ भन्ने विश्वास खेलाडीले लिएका छन् । क्यान राजनीतिक खेलमञ्च बन्न अब छाड्नु आवश्यक छ ।

नेपालको क्रिकेटलगायत अन्य खेल क्षेत्रमा समान खालका समस्या छन् । सबै खेलमा व्यवस्थापकीय पक्ष असाध्य  कमजोर र बढी राजनीतीकरण छ । हरेक खेलका सङ्घहरू छन् तर तिनमा अधिकांश राजनीति हाबी छ, पदाधिकारीहरूमा अन्तर्राष्ट्रिय दातव्य हात पारी खाने दाउ प्रभावी छ । खेलाडीले पाउँदै आएका र घोषित सीमित सेवासुविधा अवरुद्ध छन् । निजी (कर्पोरेट) क्षेत्र खेलमा रमाउँछ तर प्रायोजक बन्ने, खेल प्रवर्धन गर्ने अनि आफूले पनि आर्थिक लाभ उठाउन अग्रसर देखिन्न । राज्यले विद्यालय तहदेखि नै बालबालिकाको रुचि परीक्षण गरी खेल प्रशिक्षण दिने संस्थागत चासो दिएको देखिन्न । खेल पूर्वाधार निर्माण बेवास्तामा छ । यस्तो अवस्थाले नयाँ पुस्तामा खेल्ने जाँगर सिर्जना कसरी होस् ? नेपाली खेलाडीको सम्पत्ति जनसमर्थन मात्र देखिन्छ; त्यसलाई प्रेरणा, तालिम, प्रोत्साहन र व्यावसायिक भविष्य निर्माणको अवसर दिन पर्याप्त ध्यान र लगानी नभएसम्म अन्तर्राष्ट्रिय पदकहरू केवल सपना मात्र हुने छन् ।