• ११ मंसिर २०८१, मङ्गलबार

साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

blog

कार्यक्रममा सम्मानित हुनुहुँदै स्रष्टाहरु ।

अर्जुन काफ्ले

स्याङ्जा, असोज ११ गते । पुतलीबजार नगरपालिका–१ मा स्याङ्जा साहित्य प्रतिष्ठानले लोकसाहित्य विमर्श, पुस्तक विमोचन, स्रष्टा सम्मान गरेको छ । 

स्याङ्जाली साहित्यकार विश्वप्रेम अधिकारीको ‘द्रष्टा दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी’ र चिन्तु गिरीको ‘आमा जन्मेको दिन’ नामक पुस्तकको लोकार्पण गरिएको छ । दुई वटै पुस्तकको समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले लोकार्पण गर्नुभयो ।  

यस्तै, स्याङ्जा साहित्य प्रतिष्ठानले साहित्यकार वनमाली निराकारलाई ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०८०’ डा. दामोदर पुडासैनी किशोरलाई ‘यानीति साहित्य पुरस्कार’ २०७९, साहित्यकार धनराज गिरीलाई ‘आमा सुमित्रा गिरी साहित्य पुरस्कार’ २०७८ ले सम्मानित गरिएको हो । 

तीनै जना स्रष्टालाई १५–१५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष शिवकुमार अधिकारीले ‘कालीगण्डकी साहित्य कला पुरस्कार’ २०५३ सालबाट स्याङ्जा साहित्य प्रतिष्ठानले, ‘यानीति साहित्य पुरस्कार’ र ‘आमा सुमित्रा गिरी साहित्य पुरस्कार’ २०७३ सालबाट तुलसी गिरीको परिवारले साहित्यको क्षेत्रमा योगदानको आधारमा वितरण गरिएको बताउनुभयो । 

कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका सदस्य त्रिभुवन शर्मालाई सम्मान गरिएको छ । राङखोलामा रहेको लक्ष्मी स्मृति पुस्तकालयले प्रा.डा. गोविन्दराज भट्टराईलाई ‘महाकवि देवकोटा पुरस्कार’ २०८० ले सम्मानित गरेको छ । 

प्रत्येक वर्ष वितरण गरिने ‘महाकवि देवकोटा पुरस्कार’ले चौथो पटक डा. भट्टराईलाई २० हजार १०५ रुपियाँ नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको अधिकारीले बताउनुभयो । साहित्यिक कार्यक्रममा प्रमोद पंज्ञानी र राजेन्द्र आचार्यले लोकसाहित्यिक छलफल प्रस्तुत गर्नुभएको थियो ।