• १२ साउन २०८१, शनिबार

शिल्पीमा भैरव अर्यालको कृति ‘ह बिन्दु राम पण्डित’

blog

काठमाडौँ, असोज ११ गते । ‘ह राम पण्डित’ बाट परिवर्तन गरेर ‘ह बिन्दु राम पण्डित’ नाम राखिएको नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । नाटक हिन्दु पौराणिक कथाको सेरोफेरोमा आधारित छ । नाटकभित्र यमराजका चेला चित्रगुप्तको स्थानमा सेट बनाइएको छ जहाँको कथाभित्रका मुख्य पात्र हराम पण्डितको मृत्युपछि पनि सरकारी कार्यालयको अव्यवस्थाले उनलाई छाड्दैन । उनले मरेपछि पनि नाम बिग्रिएर पीडा पाउँछन् । मरेपछि पनि उनले सरकारी कार्यालयमा धेरैलाई घुस खुवाउनु पर्छ । मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नर्कमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दु धर्ममा रहेको विश्वास नाटकभित्र उजागर गर्न खोजिएको छ । 

‘मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, क कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् । यस्तो प्रणालीमा मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रूपमा जे जस्ता झन्झट झमेलाहरू सामना गर्छ त्यही कुरालाई नाटकमा प्रस्तुत गर्न खोजिएको छ । विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीबाट सानातिना कुरामा पनि ठुला समस्या झेलिरहेका हुन्छन् । 

घुस, आर्थिक चलखेल र आफूले भनेजति कुरा पूर्ति नभएसम्म सरकारी कार्यालयमा कुनै काम बन्दैन, कर्मचारीहरू उल्टै जाइलाग्न आउँछन् । त्यसै गरी चित्रगुप्तको कार्यालयमा पुगेको मृतक पावले पनि चित्रगुप्त कार्यालयको कारिन्दालाई क्राइभेन कोसेली दिन नसक्दा उसको नामको खोजी नहुनु र धर्म र पाप कुनै नगरी मरेको आरोपमा ऊ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य नाटकमा भिन्न ढङ्गबाट प्रस्तुत गर्न खोजिएको छ । नाटक हेरेपछि यसभित्रको कथाले व्यङ्ग्यात्मक ढङ्गले नेपाली सरकारी कार्यालय प्रणालीलाई चुनौती दिन खोजेको भान हुन्छ । 

भैरव अर्यालको कृतिमा आधारित नाटक दैलो प्रोडक्सनको प्रस्तुति र भैरव पुरस्कार गुठीको सहकार्य रहेको छ । नाटकमा श्रवण राना मगर, विकास जोशी, सवीर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सुनील राई, सम्झना राई, क्षितिज सन्तोष माझीलगायत सबै कलाकारले नाटकमा आफ्नो अभिनय क्षमता देखाउनु कुनै कसर छाड्नुभएको छैन । नरेश गजुरेल र अर्पन महर्जनको सङ्गीतलाई अवश्य दर्शकले नाटकभित्र रुचाउनुहुने छ । प्रविण खतिवडा र हुम बिसीले बनाउनुभएको नाटकको सेट डिजाइनको जति तारिफ गरे पनि कम हुन्छ । हास्य व्यङ्ग्यका बादसाह मानिने स्व.भैरव अर्यालको लेखन रहेको काउकुती, जयभुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको निबन्धकै आधारमा रहेर नाटक तयार पारिएको छ । 

अर्यालको ‘हराम प्याडे’ निबन्ध विवादित हुन्छ भन्ने ठानेरै पहिला नै ‘हराम’ होइन त्यसलाई टुक्य्राएर नाटकको नाम ‘ह राम पण्डित’ राखेका थियौँ तर पछि फेरि त्यसलाई ‘ह बिन्दु राम पण्डित’ बनाइएको निर्देशक बारत लिम्बूले बताउनुभयो । यसको अर्थ हवलदार राम पण्डित रहेको पनि उहाँले जानकारी दिनुभयो । दशक अगाडि लेखिएका भैरव अर्यालका निबन्धहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । सरकारी काममा उही ढिलासुस्ती छ । नयाँ व्यवस्था आएको भनिएता पनि राज्य व्यवस्था, कर्मचारीतन्त्र धेरै फेरिएको छैन । शिक्षा प्रणाली भताभुङ्ग छ । र पञ्चायती बेलामा झैँ कला साहित्यमा बन्देज लगाउने क्रम देखिन खोजेको छ । आफ्नो नाटकले ती सबै कुरालाई देखाउँदै अहिलेको संवेदनालाई पकड्न खोजेको निर्देशक लिम्बूको भनाइ छ ।