एक समय थियो, परीक्षा र नतिजामा हुने गरेको ढिलासुस्तीका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका विद्यार्थीहरूले उखान नै बनाएका थिए ‘सिटिइभिटीको रिजल्ट र परीक्षा, दैवको इच्छा’ ।
तीनवर्षे भनिएको कोर्सको न त समयमा नतिजा आउथ्यो न त तोकिएको समयमा परीक्षा नै हुन्थ्यो । तीन वर्षका लागि भने पनि परीक्षा र नतिजामा हुने गरेको अनियमितताका कारण कम्तीमा पाँच वर्ष गुजार्नुपर्ने बाध्यताबाट विद्यार्थीहरू पीडित थिए ।
क्याम्पसमा अरू विषय लिएर पढ्ने विद्यार्थीहरूले स्नातक तह उत्तीर्ण गरिसक्दा जेनतेन सिटिइभिटीमा डिप्लोमा तह उत्तीर्ण हुने विडम्बनापूर्ण अवस्था थियो । यसले सिटिइभिटीमा अध्ययन गरिरहेका विद्यार्थीहरूमा आशा सञ्चार गर्न नसक्ने अवस्था थियो । फलतः उनीहरूले नयाँ विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने आँट गर्न सक्ने अवस्था पनि थिएन । अघिल्लो कक्षामा पढिरहेका विद्यार्थीहरूले सकारात्मक सन्देश प्रवाह नगरेपछिको नतिजा अहिले सिटिइभिटीका हरेक शिक्षालयहरूले भोगिरहेका छन् ।
शिक्षालयमा हाल प्रशस्त पढाउने सक्ने विद्यार्थी कोटा छन्, विद्यार्थी छैनन् । अहिले पनि सिटिइभिटीको परीक्षा र नतिजाका बारेमा आममानिसमा गतिलो ढङ्गको बुझाइ रहेको छैन । पुरानो कुरा हराउन पनि समय लाग्छ । तर यो अगतिलो सूचनाका बिचमा केही समययता भने सिटिइभिटीको परीक्षा र नतिजा प्रणालीमा नयाँ ढङ्गले परिवर्तन आएको छ । अर्थात् यसका हरेक गतिविधि र कार्यक्रमहरू क्यालेन्डर बनाएर सोही अनुसार सञ्चालन भइरहेका छन् ।
आफ्नो परीक्षा कहिले हुन्छ भनेर विद्यार्थीले भर्ना हुनेबित्तिकै सूचना पाउन सक्ने खालको अवस्थासमेत सिर्जना भइरहेको छ । क्यालेन्डर निर्माण भएका कारण शिक्षालयहरूले कोर्स कसरी अगाडि बढाउने र कति समयमा त्यसलाई पठन पाठन गरेर सक्ने भन्ने खालको योजना बनाउन सक्ने भएका छन् । शिक्षालय टेकेको तीन वर्षमा शिक्षालयबाट बाहिरिने सपना पूरा हुन थालेको छ ।
एउटा क्यालेन्डर बन्दा त्यो संस्थामा जे जसरी कामहरू व्यवस्थित ढङ्गले अगाडि बढ्छन् । सोही अनुसार नै कार्यतालिका बनाउने प्रचलन स्थापित भएको छ । क्यालेन्डर बनाएसँगै त्यसलाई अक्षरशः पालना गर्नका लागि परीक्षा नियन्त्रण कार्यालयले अहम् भूमिका वहन गरेको छ । एउटा निकायले बलियो ढङ्गले काम गर्दा त्यस मातहतका अन्य निकायहरूलाई सोही अनुसार हिँड्नुपर्ने अवस्था सिर्जना हुन्छ भन्ने कुरा स्थापित भएको छ । पढाइ कहिले सुरु अनि परीक्षा कहिले सम्पन्न र परीक्षा फल कहिले प्रकाशित हुने भन्ने विषयले अब निश्चित भएको छ । यसमा कुनै अन्योलता छैन । प्रवेश परीक्षाको लामो प्रक्रियालाई यस पटक सिटिइभिटीले केही छोटो पनि बनाएको छ । यसले गर्दा शिक्षालयले समयमै पठनपाठनको सुरुवात गर्न सक्षम भएका छन् । विद्यार्थीहरूले पनि लामो समयको रिक्तता मोल्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यसको फाइदा प्रत्यक्ष रूपमा मुलुकलाई भोलिका दिनमा हाँक्ने आजका विद्यार्थीहरूलाई भएको छ ।
स्वास्थ्यबाहेकका कार्यक्रममा स्वयम् शिक्षालयलाई नै प्रवेश परीक्षा सञ्चालन गर्न दिने निर्णय निकै महत्वपूर्ण हो । अझ एसइई नतिजा प्रकाशन भएको १५ दिनभित्रमा कक्षा सञ्चालन गर्ने गरी कसरी प्रवेश परीक्षालाई व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा पनि सोच्नु नितान्त आवश्यक छ । शिक्षालयहरूले तोकेको कोटा अनुसार विद्यार्थी पाउन नसकेको अवस्थामा प्रवेश परीक्षाको नाममा अनेक प्रक्रियाको आवश्यकता पर्छ या पर्दैन त्यो बारेमा पनि गम्भिर विमर्श हुनु पर्छ । आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि सिटिइभिटीले केही कदम अवश्य पनि चाल्ने छ ।
नतिजा प्रकाशनमा हुने गरेको ढिलासुस्तीलाई सुधार गरेर परीक्षा नियन्त्रण कार्यालयले हरेक सेमेस्टरको नतिजा परीक्षा सकिएको तीन महिनाभित्र नै प्रकाशन गर्दै आइरहेको छ । अन्तिम वर्षका नतिजाहरू समयमै प्रकाशन गर्ने भएको हुँदा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूले एक वर्ष खेर फाल्नु पर्ने बाध्यताको निराकरणसमेत भएको छ भने लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थीले समेत समयमै परीक्षा दिने अवस्था सिर्जना भएको छ । यसले पछिल्लो समय विद्यार्थीहरूमा थप ऊर्जाका साथै सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । आज पनि कैयौँ विश्वविद्यालय र शिक्षालयका लागि तोकेको समयमा नतिजा प्रकाशन गर्ने कुरा जटिल बन्दै गएको छ ।
यसले एकातिर विद्यार्थीहरूमा नैराश्यता ल्याएको छ भने अर्कोतिर समयमै शैक्षिक उपलब्धि हासिल गर्न नसक्ने परिस्थितिको सिर्जना समेत भएको छ । सिटिइभिटीको यो नतिजा प्रकाशनको दायित्वबोधले प्राविधिक शिक्षालयले सहजता महसुस गरिरहेका छन् । उत्तरपुस्तिका परीक्षणलाई समयमै सम्पन्न गरेर यसरी नियमित रूपमा तोकेकै समयमा नतिजा प्रकाशन गर्न सकियो भने विद्यार्थीहरू मारमा पर्नबाट वञ्चित हुने छन् ।
सिटिइभिटीले परीक्षा प्रणालीमा ल्याएको तदारुकताले विद्यार्थीहरूसँगै शिक्षालयहरूले पनि सहजता महसुस गरिरहेका छन् । पछिल्लो समय नतिजा प्रकाशनका हरेक गतिविधिहरू प्रविधिमैत्री हुँदै गएको छ । नतिजा प्रकाशन हुने वित्तिकै शिक्षालयहरूले मार्कलेजर प्राप्त गरिरहेका छन् । मार्क लेजरका लागि महिना दिन कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै एक क्लिक गरेको भरमा नतिजा आउने गर्दा शिक्षालयहरूले मार्क लेजर प्राप्त गरिरहेका छन् । डिजिटल दुनियाँमा सानो सानो कामका लागि पनि कार्यालयमा नै धाउने पर्ने अवस्थाको अन्त्य गर्नका लागि हरेक कुरालाई डिजिटलाइज्ड गर्दै लैजानुपर्ने देखिन्छ । परीक्षा नियन्त्रण कार्यालयले गरेको यो परिवर्तनमा केही थप कुरा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । विद्यार्थीहरूले नतिजाको पूर्ण विवरणका लागि अहिले शिक्षालयमै निर्भर हुनुपर्ने अवस्था रहेकोमा विद्यार्थीहरूले स्वयम् थाहा पाउन सक्ने गरिएको प्रणाली विकसित गर्नुपर्ने अहिलेको अर्को आवश्यकता रहेको छ । आशा छ, यो सुधारका लागि पनि सम्बन्धित निकायले तत्काल सुनुवाइ गर्ने छ ।
परीक्षा नियन्त्रण कार्यालयले गरेको अर्को सकारात्मक परिवर्तन भनेको पुनर्योगका लागि विद्यार्थीले बेहोर्नुपर्ने झन्झटिलो प्रव्रिmयाको अन्त्य नै हो । आफूलाई नतिजामा चित्त नबुझेको खण्डमा विद्यार्थीहरूले पुनर्योग गर्न पाउने व्यवस्था रहेको छ तर पुनर्योगका लागि विद्यालयको सिफारिस लिएर प्रदेश कार्यालयमा नै जानुपर्ने बाध्यात्मक अवस्था रहेको थियो तर हाल विद्यार्थीहरूले सहजै पुनर्योग गर्न सकून् भनेर अनलाइनमार्फत पुनर्योग गर्न पाउने व्यवस्था गरिएको छ । हाल विद्यार्थीहरूले अनलाइनमार्फत सहज ढङ्गले पुनर्योगसमेत गरिरहेका छन् ।
सिटिइभिटीले सुधार गर्दै लगेका कुराहरू आफँैमा प्रशंसनीय नै रहेका छन् तर प्राविधिक शिक्षाको मुख्य केन्द्रका रूपमा रहेको सिटिइभिटीले आफूलाई थप प्रविधिमैत्री बनाउँदै लैजानु पनि आज आवश्यक छ । सिटिइभिटीले सञ्चालन गर्ने डिप्लोमा तहको कार्यक्रम सदनमा दर्ता भएको शिक्षा ऐन अनुसार एसइई सरहको मान्यतामा रहेको छ । यसरी एसइई सरहको मान्यतामा रहेको डिप्लोमा तहको पहिलो, दोस्रो सेमेस्टर र पहिलो वर्षको कार्यव्रmमको परीक्षा सम्बन्धित शिक्षालयले नै लिने व्यवस्था गर्न सकेमा मात्रै ऐन अनुसार हुन्छ । त्यसो त अहिले पनि कक्षा ११ को परीक्षा विद्यालयले नै लिने गरेको अवस्था छ । यसरी परिमार्जित अवस्थामा सिटिइभिटीले परीक्षा प्रणालीमा पनि सुधार गर्नुपर्ने देखिन्छ । अर्को महìवपूर्ण कुरा भनेको प्रयोगात्मक परीक्षाको हो । अहिले पनि सिटिइभिटीको प्रयोगात्मक परीक्षाहरू कर्मकाण्डी जस्ता देखिन्छन् । व्यावहारिक शिक्षा भने पनि विद्यार्थीको क्षमता मापनका लागि धेरै जसो लिखित कुरामै निर्भर रहेको देखिन्छ । प्रयोगात्मक दृष्टिले राम्रो गर्ने विद्यार्थीले पनि लेख्न नसकेका कारणले गर्दा राम्रो नतिजा ल्याउन सकेको हुँदैन यस कुरालाई सम्बोधन गर्ने गरी परीक्षा प्रणालीमा सुधार गर्न सकियो भने यसले गुमाउँदै गरेको साख बिस्तारै जोगिने अवस्था आउन सक्छ ।