• १४ मंसिर २०८१, शुक्रबार

बजार अनुगमन : किसान मार्टलाई लाख जरिवाना

blog

अर्जुन चौपारी गाउँपालिका –१ मा अनुगमन गर्दै टोली । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असोज ९ गते । चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा किसान मार्टलाई एक लाख रुपियाँ जरिवाना गरेको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ को प्रावधानअनुसार बजार अनुगमन गरेको अनुगमनमा सहभागीहरूको भनाइ छ । कालोबजारी रोक्ने तथा उपभोक्ता हक संरक्षण गर्ने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा चापाकोट तथा अर्जुन चौपारीमा बजार अनुगमन गरेको हो ।

पौडेल नेतृत्वको टोलीले यहाँका किराना, औषधि पसल, हार्डवेयर, होटल बेकरी अनुगमन गरेको हो । चापाकोटमा ६ वटा पसल अनुगमन गर्दा पाँच वटा पसललाई दुई लाख ८५ हजार रुपियाँ जरिवाना गराएको हो । 

चापाकोटको किसान स्टोर्स (मार्ट) ले मूल्यसूची नराखेको र ब्लुडायमण्ड रक्सीमा रि–लेवलिङ गरेर बिक्री वितरण गरेकाले एक लाख जरिवाना गरिएको छ । मार्टले ८८० रुपियाँको रक्सीलाई केरमेट गरी पुनः लेवलिङ गरी दुई सय थपगरी बिक्री गरेको भेटिएको हो । 

यस्तै, मूल्यसूची नराखेको र बिलबिजक जारी नगरेकोमा न्यु राधाकृष्ण ट्रेडर्स र सोनी दामाचौर हार्डवेयरलाई ६०–६० हजार रुपियाँ जरिवाना गरेको हो । यस्तै, मुल्यसुची नराखेकोमा खनाल स्टोर्सलाई ५० हजार र पाठक हार्डवेयरलाई बिल विजक जारी नगरेकोमा २० हजार, जरिवाना तिराएको हो । 

चापाकोट नगरपालिकाले दिएको मूल्यसूची राख्नेलगायतको निर्देशन पालना नगरेको देखिएकाले जरिवाना गर्नुपरेको पौडेलले बताउनुभयो । यस्तै, अर्जुन चौपारीमा १२ वटा पसलहरू अनुगमन गरेको र म्याद गुज्रेका सामानहरू भेटिए पनि अन्य कुरामा प्रभावकारी रहेको भेटिएको छ । 

मूल्य र उत्पादन मिति नराखी अर्जुन चौपारीमा बिक्रीमा राखिएको पनिरको उत्पादक तीनदोबाटो दुग्ध उत्पादक डेरी प्रालि गल्याङ नगरपालिका –८ लाई कानुनी दायरमा ल्याउने पौडेले बताउनुभयो । 

उपभोक्ता मञ्च, प्रशासन, प्रहरी, पालिका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको अनुगमनमा मूल्यसूची नराखेको, म्याद गुज्रेका सामान बिक्री वितरण, बिल विजक जारी नभएको भेटिएको थियो । 

अनुगमनमा बिस्कुट, घिउ, लिची जुस, पीठो, बियर, सुजी, बदाम लगायतका सामग्री जफत गरी नष्ट गरिएको थियो । अनुगमन निरन्तर चलिरहने र नियम विपरीत चलाइका पसल कुनैलाई नछाडिने पौडेलले बताउनुभयो । अनुगमन टोली आएको थाहा पाएपछि नियम नमान्ने व्यापारीहरू पसल बन्द गरेर भाग्नेगरेको उहाँले बताउनुभयो ।