• १२ साउन २०८१, शनिबार

नब्बे प्रतिशत क्षेत्रमा विद्युत् पुगेको छ

blog

विकासमा अघि बढ्दै गरेको डोल्पामा कृषि र पर्यटनमा प्रचुर सम्भावना छन्। धार्मिक पर्यटनका हिसाबले प्रख्यात त्रिपुरासुन्दरी मन्दिर यहीँ छ। सोही नामबाट डोल्पाको एक नगरपालिकाको नामकरण गरिएको छ, त्रिपुरासुन्दरी । पूर्वमा ठुलीभेरी, पश्चिममा जगदुल्ला, दक्षिणमा रुकुम उत्तर मुकोट हिमालमा रहेको छ, त्रिपुरासुन्दरी । आर्थिक, सामाजिक, भौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य र सडक विकासको दृष्टिले अन्य पालिकामध्ये त्रिपुरासुन्दरी अब्बल रूपमा परिचित छ । धार्मिक पर्यटकीय हिसाबले प्रख्यात त्रिपुरासुन्दरीको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित जनचन्द्र रोकाय हुनुहुन्छ । विकट जिल्लाको पालिका भएकाले काममा धेरै व्यवधान र कठिनाइ रहेको अनुभव बताउनुहुने प्रमुख रोकायसँग गोरखापत्रका डोल्पा समाचारदाता विष्णुप्रसाद देवकोटाले विकास निर्माण, योजना र उपलब्धिका विषयमा कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सारसङ्क्षेप– 


जनप्रतिनिधिका रूपमा एक वर्षको अवधिमा के कस्ता चुनौती भोग्नु भयो ?

भौगोलिक हिसाबले विकट डोल्पाको समस्या आफैँमा विशिष्ट चुनौतीपूर्ण छ। यहाँका समस्या आफ्नै खाले छन्। तिनको समाधानमा त्यस्तै चुनौती छन्। स्थानीयमा सेवा प्रवाह गर्ने वडापालिका र अन्य आवश्यक कार्यालयका भवनसमेत बनाउनुपर्ने अवस्था छ । आवश्यक मात्रामा दरबन्दी अनुसार स्थायी कर्मचारीको व्यवस्था नहुँदा सेवा प्रवाहमा समस्या छ । दुर्गम ठुलो भौगोलिक स्थानका समस्या समाधान गर्नका लागि आवश्यक बजेट पनि प्राप्त हुने गरेको छैन । नगरपालिकाको आन्तरिक राजस्व पनि अपेक्षित रूपमा उठ्न नसक्ने समस्या छ। 


नगरपालिकामा नगरी नहुने के कस्ता काम छन् र कसरी गर्ने लक्ष्य लिनुभएको छ ?

त्रिपुरासुन्दरी नगरपालिकालाई समृद्ध तथा सुखी नगर बनाउन धेरै काम गर्नुपर्ने अवस्था छ तर हामीसँग सीमित स्रोतसाधन भएकाले ती साधनको उचित उपयोग गरी न्यूनतम काम गर्नैपर्ने छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्थापन,  आधारभूत स्वास्थ्य सुविधामा सबै नागरिकको पहुँच, सरल स्वास्थ्य सेवाको प्रत्याभूति, सबै वडामा भरपर्दो विद्युतीकरण, दिगो तथा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने छ । यस्तै नगरको ११ वटै वडामा मोटरबाटोको स्तरोन्नति गर्नुपर्ने पनि छ । कृषिमा आधुनिकीकरण तथा बजारीकरणका साथै पर्यटन क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता छ । 

निर्वाचनका बेला गरिएका विकासका प्रतिबद्धता सम्बोधनमा के कस्ता काम गर्नुभएको छ ?

सीमित स्रोतसाधन भए पनि हाम्रो नगरपालिकाले धेरै उपलब्धि हासिल गरिसकेको छ। तीमध्ये आफ्नै प्रशासकीय भवन निर्माण भई सहज सेवा सञ्चालनमा आएको छ । नगरपालिकाभित्रका ११ वटै वडामा कच्ची सडक पुगेको छ । करिब ९० प्रतिशत नगरवासीमा विद्युत् पहुँच पु¥याइएको छ ।

नगरपालिकाका सबै वडामा सञ्चार सेवा पुगेको छ । यस्तै शिक्षकको दरबन्दी मिलान भई सबै सामुदायिक विद्यालयमा न्यायोचित शिक्षक व्यवस्था गरिएको छ । २९ वटै विद्यालयका इसिडीदेखि कक्षा ३ सम्म सुधार भएको छ । सबै वडामा स्वास्थ्य चौकी आधारभूत स्वास्थ्य एकाइ घुम्ती स्वास्थ्य सेवामार्फत स्वास्थ्य सुविधा दिइँदै आएको छ । रैथाने बाली संरक्षणमा पशुमा नस्ल सुधारका लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ । स्याउ, अङ्गुर पकेट निर्माण गरेको र स्याउ, अङ्गुरबाट जुस तथा वाइन उत्पादन तथा बजारीकरण गरिरहेको छ । यो हाम्रो मुख्य उपलब्धि हो । 


पालिकाका मुख्य मुख्य समस्या के के हुन् ? ती समस्या समाधानका योजना के छन् ? 

सीमित स्रोतबाट आमनगरवासीका समस्या समाधान गर्नका लागि धेरै समस्या छन्। तीमध्ये मुख्य समस्या नगरवासीलाई कसरी गुणस्तरीय शिक्षा दिने ? सरल तथा सुलभ स्वास्थ्य सेवा, स्तरीय सडक तथा विद्युत्, खानेपानी, कृषि आधुनिकीकरण गर्ने तथा पर्यटनमार्फत आयआर्जनमा वृद्धि गरेर रोजगारी सिर्जना गरी गरिबीको न्यूनीकरण गर्ने विषय हाम्रा लागि चुनौतीपूर्ण छन् । यी समस्या समाधानका लागि बजेट विनियोजन प्राथमिकता अनुसार गर्ने तथा अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी समाधान गर्ने योजना रहेको छ ।


पालिकाको विकासका लागि सङ्घीय तथा प्रदेश सरकारसँग के कसरी समन्वय गरिराख्नुभएको छ ?

समृद्ध नगरपालिका निर्माणका लागि नगरपालिकाको स्रोत तथा प्रयासले मात्र कठिन छ। नगरको विकासका लागि नगरपालिकाको शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन जस्ता क्षेत्रको विकासका लागि सङ्घीय तथा प्रदेश सांसदलगायत विभिन्न मन्त्रालय, आयोग तथा सरकारी एवं गैरसरकारी संस्थासँग समन्वय तथा सहकार्यको प्रयास गरिरहेको छु । सबैबाट सकारात्मक आश्वासन पाइएको छ । 


समृद्ध नगरपालिकाका लागि आगामी वर्षका लागि के के योजना रहेका छन् ?

सुखी तथा समृद्ध नगरपालिका निर्माणका लागि आगामी वर्षमा नगरका सबै वडाका कच्ची सडकलाई स्तरोन्नति गर्नुपर्ने छ । वडा तथा स्वास्थ्य सेवा विद्यालयमा सुविधासम्पन्न संरचना निर्माण गर्ने, गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको प्रत्याभूति गराउने, विद्युत् तथा खानेपानीको सुविधा विस्तार गर्ने, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै लैजाने र लघु तथा घरेलु उद्योगमार्फत युवा स्वरोजगार सिर्जना गर्ने योजना छ । 


तपाईंको नगरपालिकाविरुद्ध अख्तियारमा मुद्दाका चाङ छन् भन्ने छ, फस्र्योटका लागि के कसरी अघि बढ्नु भएको छ ?

अहिलेको अवस्थामा अख्तियारको उजुरी मेरो नगरपालिका मात्र नभएर सबैतिर परिरहेका छन् । उजुरी पर्दैमा केही हुँदैन । काम नियमसङ्गत हुन्छ र भएको पनि छ । केही उजुरी फस्र्याेट भएका छन् र केही हुने क्रममा छन् । समृद्ध नगरपालिका निर्माणमा आउने अवरोधले कुनै समस्या गर्दैन । सबैले सबैले हातेमालो गरेर काम गरेमा सहज छ ।