रजनी योगी
सुर्खेत, असोज ९ गते । सुर्खेतमा निर्माणाधीन सङ्ग्रहालय तथा अभिलेखालयको भवन तीन वर्षदेखि अलपत्र परेको छ। निर्माणको जिम्मा लिएको अनिवार्य विल्डर्सले आधा कामसमेत नगरी सम्पर्कविहीन भएको छ । ताकिता गर्दासमेत ठेकेदार सम्पर्कमा नआएपछि कर्णाली प्रदेश सरकारले निर्माण सम्झौता रद्द गर्ने तयारी गरेको छ ।
प्रदेश सङ्ग्रहालय तथा अभिलेखालयका प्रमुख अर्जुनबहादुर शाहीका अनुसार कार्यालयको प्रशासनिक भवन निर्माण अलपत्र हुँदा दैनिक कार्यसम्पादनमा समेत असहज भइरहेको छ । निर्माण कम्पनीलाई भवन निर्माणको बाँकी काम सम्पन्न गर्न भनिएको भए पनि अटेरी गरिरहेको पाइएको छ ।
सम्झौता अनुसार उक्त भवन २०७८ असार मसान्तसम्म निर्माण भइसक्नुपर्ने थियो। निर्धारित समयावधिभित्र काम सम्पन्न नभएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले २०७८ मङ्सिर ६ गते पहिलो पटक म्याद थप गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णय अनुसार २०७८ चैतसम्म निर्माण सक्नुपर्ने भनिएको थियो तर अहिलेसम्म भवन निर्माणको काम अलपत्र छ ।
प्रमुख शाहीका अनुसार सङ्ग्रहालयसँग पर्याप्त भवन छैन। अहिले दुई वटा फाँटबाट हुनुपर्ने काम एउटै कोठाबाट गर्नु परिरहेको छ।
निर्माणाधीन भवन लामो समयदेखि अलपत्र परेको र पुरानो भवन साँघुरो हुँदा प्रशासनिक काममा बाधा पुगिरहेको छ। समयमै भवन निर्माणको काम सम्पन्न नहुँदा सङ्ग्रहालयमा राखिनुपर्ने सजावटका सामानसमेत थप गर्न सकिएको छैन । सङ्ग्रहालयका सामान राख्ने ठाउँबाट प्रशासनिक काम भइरहेको जनाइएको छ ।
कार्यालय प्रमुख शाहीका अनुसार काम अलपत्र पार्ने निर्माण कम्पनीले दुई पटक गरी १५ लाख रुपियाँ भुक्तानी लिइसकेको छ। उक्त एकतले भवन बनाउन ६० लाख ७३ हजारमा सम्झौता भएको थियो ।
सङ्ग्रहालय प्रमुख शाहीले काम छिटो अघि बढाउन चार पटकभन्दा धेरै ठेकेदार कम्पनीलाई पत्र पठाइसकेको बताउनुभयो। त्यति गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गर्दै आएको जनाइएको छ । ठेकेदारले पहिले कोरोना महामारी र मूल्यवृद्धिको बहाना बनाउँदै निर्माण अलपत्र पारेको कार्यालयले जनाएको छ।
धेरै पटक काम गर्न ताकिता गर्दा समेत समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको सम्झौता रद्द गरिने जनाइएको छ। खरिद नियमावलीबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिनुभयो।
उहाँले सम्बन्धित मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयलाई त्यस्ता अलपत्र छोडिएका पूर्वाधार निर्माण कार्यको विवरण सङ्कलन गर्न निर्देशन गरिएको बताउनुभयो।