• ६ जेठ २०८१, आइतबार

साझाको विशेष पुस्तक प्रदर्शनी सुरु

blog

काठमाडौं, असोज ८ गते । नेपालका भाषा, कला, संस्कृतिको सम्बर्धन र प्रवर्धनमा १११ वर्ष सेवा गरेको साझा प्रकाशनले दुई हप्ते विशेष पुस्तक प्रदर्शनी सुरु गरेको छ । 

प्रदर्शनीमा साझा प्रकाशनका साथै नेपाल प्रज्ञाप्रतिष्ठान, सिनासलगायत व्यक्तिगत प्रकाशनका दुर्लभ पुस्तक पनि राखिएका छन् । २० देखि ८० प्रतिशत छुटमा पुस्तक खरिद गर्न सकिने जनाइएको छ । प्रदर्शनी कार्यालयमा समयमा सञ्चालन भइरहेको छ ।

साझाका निमित्त महाप्रबन्धक भेषराज घिमिरेका अनुसार साझाले सबै भाषा, संस्कृति र साहित्यका सम्पूर्ण विधासम्बन्धी पुस्तक प्रकाशन गर्दै आएको छ ।

दशैँ, तिहार र छठ पर्वको सन्दर्भ पारेर पठन संस्कृतिको विकासमा टेवा पु¥याउने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको जनाइएको छ । साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक र साझाका बिक्री कक्षमा असोज ७ देखि थालिएको प्रदर्शनी २२ गतेसम्म सञ्चालन हुनेछ । 

साझाका निमित्त महाप्रबन्धक भेषराज घिमिरेका अनुसार प्रदर्शनीस्थलमा ४।२५ रुपैयाँ मूल्यदेखि दुई हजार आठ सयसम्मका पुस्तक राखिएका छन् । टेकबहादुर खत्रीको ‘पञ्चायत आजको’ को मूल्य ४।२५, पं. ऋषभदेव शास्त्रीको ‘व्याकरणको दन्त्यकथा’ को ६।५० रुपियाँ छ । व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोशको मूल्य दुई हजार आठ सय रुपियाँ छ । भैरवबहादुर थापाको नृत्यसम्बन्धी अङ्गेजी संस्करणसमेत प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा साझा प्रकाशनबाट भर्खरै प्रकाशित परमानन्दगीता, अणिमा, मनको बह, मनको बिम्बबाट, आसन ग्रहण, खोजी, मिसन यात्रा, धर्मदर्शन, जीवन दर्शन, नक्साको जून, कुमुदाग्नि, नेपाली उपन्यासमा आञ्चलिकाः सिद्धान्त, परम्परा र प्रवृत्ति, परेवा र बाज तथा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेद, पुराणका रत्नहरूलगायत विभिन्न शीर्षकका कृति विशेष छुटमा बिक्रीका लागि राखिएको छ ।