• १२ साउन २०८१, शनिबार

शीतोष्ण बागवानी विकास केन्द्रको ५७ वर्ष

blog

मुस्ताङको मार्फामा प्रदर्शनिमा राखिएको फलफुलहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज ८ गते । शीतोष्ण हावापानीमा उत्पादन हुने र उत्पादन गर्न सकिने तरकारी तथा फलफुलको अध्ययन तथा अनुसन्धान गर्ने मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र स्थापना भएको ५७ वर्ष पुगेको छ । 

देशको शीतोष्ण हावापानी हुने क्षेत्रको कृषि अनुसन्धान, विकास तथा प्रवर्धन गर्ने उद्देश्यले २०२३ सालमा स्थापना भएको शीतोष्ण बागवानी विकास केन्द्रले तरकारी तथा फलफूलको अध्ययन अनुसन्धान गर्दैआएको छ । शीतोष्ण बागवानी विकास केन्द्रकै माध्यमबाट मुस्ताङमा शीतोष्ण हावापानीमा उत्पादन हुने फलफुल तथा तरकारी र विभिन्न बालीको संरक्षण, विकास र अनुसन्धानमा महत्वपूर्ण योगदान रहेको स्थानीय कृषकको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको स्थापना दिवसको अवसरमा जिल्ला न्यायाधीश ईश्वर पराजुलीले समग्र कृषि क्षेत्रको उत्थान र विकासमा केन्द्रले निकै महत्वपूर्ण योगदान गरेको बताउनुभयो । किसानलाई आधुनिक र बैज्ञानिक खेती गर्न केन्द्रले ठूलो सहयोग गरेको र आगामी दिनमा पनि केन्द्रले हावापानी सुहाउँदो कृषि कर्म गर्न सिकाउने अपेक्षा राखेको बताउनुभयो । 

जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले जिल्लाका कृषकलाई आफ्नो उत्पादन बढाउन र बजारिकरण गर्न पनि सकिन्छ भन्ने सिकाउने काम केन्द्रले गरेको बताउनुभयो । उहाँले कृषकलाइ आधुनिक खेती गर्न सिकाउने यस्तो केन्द्रलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जिल्ला मात्रै नभएर अन्यत्रका पनि कृषकहरुका लागि केन्द्रले दिएको योगदान अतुलनीय रहेको बताउनुभयो । कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकाज पन्तले पनि शुभकामना मन्तव्य राख्नुभयो ।

स्थापना दिवसका अवसरमा एक जना कार्यालयका कर्मचारी र एक जना उत्कृष्ट कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । केन्द्रले कृषि फलफुल तथा तरकारीजन्य बाली विकासमा महत्वपूर्ण योगदान गरेवापत कृषि ज्ञान केन्द्र मुस्ताङको छनौटका आधारमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ तिरीका गोम्बो पशुपंक्षि तथा कृषि फर्मका कृषक न्हुन्पु गुरुङलाई नगदसहित सम्मान गेरएको थियो । 

शीतोष्ण बागवानी विकासले स्याउ लगायतका फलफुल तथा तरकारीको प्रशोधन गरी ब्रान्डी, साइडर, वाईन र जुसहरु निर्माण गर्नेगर्छ । केन्द्रले मुख्यगरी शीतोष्ण फलफुल तथा तरकारी उत्पादन गर्नेगरेको छ ।