फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक ११ गते। आन्दोलनका क्रममा प्रदेशसभा सचिवालयको भवनसहित सबैजसो कागजात नष्ट भएपछि गण्डकी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई व्यक्तिगत विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
प्रदेशसभाका सचिव गोविन्द पौडेलले मङ्गलबार सूचना जारी जेनजी आन्दोलनका क्रममा सबै विवरण नष्ट भएको जनाउँदै सांसदलाई व्यक्तिगत विवरण फारम भर्न आग्रह गर्नुभएको छ।
गण्डकी प्रदेश सभा नियमावली २०५० को नियम २०३ अनुसार प्रत्येक प्रदेशसभा सदस्यले नियमावलीको अनुसूची ६ बमोजिमको व्यक्तिगत विवरण फाराम भरी सचिवालयमा पेस गर्नुपर्छ। पहिले बुझाएका फारम नष्ट भएपछि सचिवालयले यही कात्तिक मसान्तभित्र पुनः विवरण बुझाउन भनेको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते गण्डकी प्रदेशसभाको भवन, प्रदेशसभा सचिवालयसहित समितिका कार्यालयहरूसमेत तोडफोड र आगजनी भएका थिए। अस्थायी रूपमा कृषि मन्त्रालयको पोखरा–५, मालेपाटनमा रहेको सभाहलमा प्रदेशसभा बैठक राख्ने तयारी गरिएको छ।
यसैबिच, गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यका स्वकीय सचिवको सुविधा भुक्तानी रोकिएको छ। भदौसम्मको सुविधा दसैँअघि नै पठाइसकिएकोमा असोजदेखिको सुविधा रोकिएको हो। सङ्घीय सरकारले खर्च मितव्ययिताका लागि स्वकीय सचिव सुविधा खारेज गर्ने निर्णय गरेको थियो।
गएको असोज ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि स्वकीय सचिव खारेजीका लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाएको थियो। प्रदेशसभा सचिव गोविन्द पौडेलले सङ्घीय सरकारले असोज ५ गते परिपत्र गरे पनि असोज १ गतेबाटै तलब रोकेको जानकारी दिनुभयो।
सरकारको मितव्ययी नीतिलाई कार्यान्वयन गरिएको जनाउँदै आफूले पनि सोही शैली अपनाएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सङ्घको परिपत्र कार्यान्वयन गरिसक्यौं। मैले नियमले पाउने एक जना स्वकीय सचिव पनि नलिने निर्णय गरेको छु।”
६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सदस्य छन्। गण्डकीमा प्रदेशसभा सदस्यका स्वकीयले नायब सुब्बासरह सुविधा पाउँदै आएका थिए।