• ११ कात्तिक २०८२, मङ्गलबार

हिउँले अवरुद्ध बाटो पन्छाउँदै सशस्त्र प्रहरी बल

blog

हिउँ पन्छाउँदै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, कात्तिक ११ गते । मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा गएरातीदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गरानुको साथै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका–५, नेचुङस्थित उपल्लो मुस्ताङमा गएराति देखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङले पन्छाउनुको साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरूलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेको छ । 

सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, सो टोलीले यात्रुहरूको सहजताका लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्यसमेत गरेको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ । 

त्यसैगरी, मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४, हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गएरातिदेखि परेको हिउँसमेत सशस्त्र प्रहरीले हटाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ । 

यसैगरी,  म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरूको सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । सो टोली पदयात्रीहरूको सहजता र सुरक्षाका लागि अन्नपूर्ण गाउँपालिका–४, हुमखोला भन्दा माथिसम्म पुगेको छ ।