• ५ जेठ २०८१, शनिबार

कोशीमा मन्त्रिपरिषद् विस्तारको तयारी

blog

शशिधर पराजुली

विराटनगर, असोज ८ गते । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । आज केही मन्त्री थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको तयारी छ । 

सर्वोच्च अदालतले अघिल्लो सरकारको वैधानिकता अन्त्य गरेपछि भदौ २२ गते संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) को नेताको हैसियतमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । 

सोही दिन उहाँले तीन मन्त्री र एक राज्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । उहाँले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सभा सदस्य लीलावल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद मेहता र निरन राईलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।  

मन्त्री नियुक्ति गर्ने चर्चासँगै बुबाको उपचारमा अस्पतालमा रहँदै आउनुभएका सांसद लीलावल्लभ अधिकारीले मुख्यमन्त्रीले बोलाउनुभएको जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको आफूले बुझेको बताउनुभयो ।