• २७ मंसिर २०८१, बिहिबार

हिप्पी संस्कृति

blog

इस्वी संवत्को १९६० को दशक आसपास काठमाडौँका ठाउँ विशेष गरी नयाँ सडक, इन्द्रचोक, झोँछे तथा वसन्तपुर आदिमा  अनौठा स्वभावका मान्छे एकाएक देखा पर्न थाले । जिङ्रिङ्ग कपाल पालेका, खुकुला लुगा र बेलिबटम पाइन्ट लगाएका ती मान्छे समूहमा हिँड्थे । अन्य विदेशी पर्यटक जस्तो उनीहरू पैसा खर्च गर्दैनथे अर्थात् किफायती थिए । तिनको स्वभाव निकै अनौठो थियो । 

दिनभरि झोँछेलगायतका ठाउँमा खुलमखुला रूपमा बेचिने गरेको गाँजा र चरेस खाएर तिनीहरू लट्ठ परेका हुन्थे । बौद्ध र स्वयम्भूमा हुलका हुल घुम्न जान्थे । त्यता जाने क्रममा कतै ढुङ्गेधारा देखिएमा तिनीहरू निर्वस्त्र भएर नाङ्गै नुहाउँथे । यो देखेर नेपाल प्रहरीलाई उनीहरूलाई नियन्त्रणमा लिन निकै गाह्रो पथ्र्याे । यस्ता अनौठा स्वभाव भएका ती मान्छेको समूहलाई हिप्पी भनिन्थ्यो । 

विश्व तत्कालीन सोभियत सङ्घ र अमेरिकाबीच जारी शीत युद्धमा होमिएको थियो । परमाणु अस्त्रहरूको प्रयोग र भियतनाम–अमेरिका युद्धमा ठूलो सङ्ख्यामा अमेरिकी सैनिक मारिएपछि सैनिक आपूर्ति गर्न अमेरिकालाई हम्मेहम्मे प¥यो । यस्तो परिस्थितिमा अमेरिकी सरकारले सेनामा भर्ती हुन त्यहाँका युवालाई आह्वान गर्नु परेको थियो तर त्यहाँका शान्तिप्रिय युवाले सेनामा भर्ना हुन त्यति चासो देखाएनन् । 

यसपछि त त्यहाँको सरकारले युवालाई सेनामा अनिवार्य भर्ना हुन आदेश जारी ग¥यो । यस्तो भएपछि अमेरिका र अन्य युरोपेली देशबाट युद्धको सन्त्रासबाट बिरक्तिएर स्वतन्त्र रूपमा जीवन बिताउन चाहने युवाको समूह अफगानिस्तान, टर्की र भारत हुँदै लस्करै नेपाल आइपुग्यो । 

यसरी नेपालमा हिप्पीहरूको आगमन हुन पुगेको थियो । नेपालमा यस्तो अवस्था सिर्जना त भयो नै यस हिप्पी संस्कृतिले विश्वको साहित्य, चलचित्र तथा अन्य सांस्कृतिक क्षेत्रमा पनि प्रत्यक्ष रूपमा प्रभाव पा¥यो । नेपालमा राल्फाली सन्तति, बुटपालिस आन्दोलन तथा अस्वीकृत जमात जस्ता साहित्यिक र साङ्गीतिक आन्दोलनमा हिप्पी संस्कृतिको प्रभाव परेको थियो । 

बिटल्स र बब डाइलनहरूको गीत प्रस्तुतिबाट राल्फाली साङ्गीतिक आन्दोलनले ग्रहण गरेको प्रभावबारे स्वयं राल्फाहरूले नै विभिन्न प्रसङ्गमा उल्लेख गरेको पाइन्छ । हङ्ग्री जेनेरेसन जस्ता समूह विश्वमा हिप्पी संस्कृतिबाट नै विकास हुन पुगेका थिए ।  गाँजा चरेसका पारखी यी हिप्पी खुला यौनको समेत वकालत गर्दथे । पञ्चायती व्यवस्था मुलुकमा रहेका बेला नेपालले गाँजा र चरेसमाथि प्रतिबन्ध लगाएको थिएन । लागुऔषधमा खुला नीतिले हिप्पीहरूलाई नेपाल स्वर्ग जस्तै भयो । 

२०३०/३१ सालमा नेपालमा ७५ हजार विदेशी पर्यटक भित्रिए ।  जसमध्ये अधिकांश त हिप्पी नै थिए । शान्तिको खोजीमा युवाले गरेको अहिंसात्मक विद्रोह मानिएको यो संस्कृतिको नेपाल प्रवेश २०२३ बाट सुरु भएको थियो । अमेरिका, जर्मनी, टर्की तथा दक्षिण एसियाका अन्य देश हुँदै नेपाल आएका उनीहरू नौ हजार किलोमिटर बस यात्रा गरी यहाँ आइपुगेका थिए । 

हिप्पी संस्कृतिसँगै उनीहरूमा क्यामराको प्रयोग, रेस्टुरेन्ट संस्कृति र खुला यौनको आह्वान प्रवृत्ति पनि विकास भयो । यही बेला हो देवानन्दको निर्माण, निर्देशन र अभिनय रहेको भारतीय चलचित्र हरेराम हरेकृष्ण निर्माण गरिएको । 

काठमाडौँमा छायाङ्कन गरिएको सो चलचित्रमा पूर्ण रूपमा हिप्पी संस्कृतिको यथार्थ चित्र थियो । लामो कपाल, लामो दाह्री र खुकुला लुगा लगाउने, लजमा समूहमा बस्ने हिप्पीहरूको नेपाल आगमनले नेपाल पश्चिमी मुलुकहरूमा चर्चाको विषय बन्न पुगेको सत्य हो र नेपालमा पर्यटनको खाका कोरिएको पनि यतिबेला नै हो । 

एक पटकको जिन्दगीलाई किन युद्धमा होम्ने भनेर युवाले चलाएको यो विद्रोहले समय क्रममा नेपाललाई लागुऔषधको स्वर्ग भनेर पनि चिनायो । हिप्पी संस्कृति नेपाल सन्दर्भमा दुर्दान्त पाटो हो । नेपालबाट गाँजा, चरेस तस्करी भएर युरोप र अमेरिका पनि पुग्न थाल्यो । त्यतिबेलासम्म पनि नेपालले लागुऔषध नियन्त्रणसम्बन्धी विश्व महासन्धिमा हस्ताक्षर गरेको थिएन । 

यसरी आफ्ना युवा नेपालमा लागु पदार्थको कुलतमा चुर्लुम्म डुबेर जीवनलाई नै जोखिममा पारिरहेको देखेर अमेरिकाको पनि टाउको दुख्न थाल्यो । स्वयं हिप्पीहरू पनि आफू आउँदा थोरबहुत बचाएर ल्याएको पैसा सकिएपछि पीडामा हुन्थे । कतिपय हिप्पी महिलाले त यौन पेसामा लागेर दुई छाक टार्ने गरेको पनि सुनियो । 

यस्तै बेलामा अमेरिकाले नेपाल आएका हिप्पीहरूलाई अमेरिका फर्काउने बारेमा कठोर निर्णय लियो । त्यतिबेलासम्म लागुऔषधविरुद्धको विश्व महासन्धिमा हस्ताक्षर नगरेको नेपाललाई चेतावनी दिँदै अमेरिकाले यो सन्धिमा हस्ताक्षर नगरे तथा नेपाल पुगेका हिप्पीहरूलाई अमेरिका फर्काउने व्यवस्था नगरे दिइँदै आएको आर्थिक र सैन्य सहायता बन्द गर्ने निर्णय गरिने चेतावनी दियो । 

त्यतिबेला राजा महेन्द्रको निधन भई वीरेन्द्र राजा भइसकेका थिए । तत्कालीन अमेरिकी उपराष्ट्रपति नेपाल आएर चेतावनीपूर्ण अनुरोध गरेपछि राजाले सो सन्धिमा हस्ताक्षर पनि गरे र नेपालमा रहेका हिप्पीलाई उनीहरूको देशमा विभिन्न उपाय लगाएर धपाइयो । 

बाँच्नै गाह्रो परेपछि कतिपय हिप्पी त आफैँ यहाँ रहेका आफ्ना देशका दूतावास अगाडि गएर आफूलाई स्वदेश फर्काउन अनुरोधसमेत गर्न थाले । यस पहलले गर्दा यौन व्यवसायसम्म गर्ने महिला हिप्पी र भिक्षासमेत माग्न विवश भएका पुरुष हिप्पीलाई स्वदेश फर्कने प्रयासमा पुर्जीवनसमेत प्राप्त भयो । 

यसरी एक दशकको नेपाल बसाइपश्चात् काठमाडौँका सडक र गल्लीबाट एकाएक ती हिप्पी हराउन पुगे । विदेशस्थित नेपाली दूतावासले पनि हिप्पी जस्तो लाग्ने युवालाई नेपाल प्रवेशका लागि भिसा दिन बन्द गरेपछि हिप्पी युग नेपालको सन्दर्भमा समाप्त हुन पुगेको थियो ।  

Author

कमल सुवेदी