सुधा देव
भारदह(सप्तरी),कात्तिक २२ गते । सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजाराको मुसहर बस्तीमा नव निर्मित प्रसन्न सामुदायिक सेवा केन्द्रको उद्घाटन गरेर समुदायलाई हस्तान्तरण गरेको छ ।
नेपाल युथ फाउन्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नव निर्मित भवन शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष बिजय कुमार यादव, पालिकाको प्रमुख प्रशासकीय अधिकृत ललन यादव, वडा अध्यक्ष रमानन्द चौधरी लगायतले भवन उद्घाटन गर्नुभएको थियोे ।
यस वडामा बसोवास गर्ने हाम्रो समुदायमा यस्तो सुविधा सम्पन्न घर कसैको नभएको बेला समुदायले यस्तो सेवा सुविधा भएको भवन पाउदा समुदाय नै खुशी भएको स्थानीय प्रिंयका सदाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो सामुदायिक भवन हामीलाई हस्तान्तरण गरेर हाम्रो समुदायलाई ठुलो उपकार गरेको महसुस हामीले गरेका छौँ ।’’
दुई कोठे हल, एउटा भान्सा, शौचालय, बाथरूमसहितको भवन र भवनमा आवश्यक सामग्री दराज, किचेन सामग्री, फर्निचर लगायतमा ५५ लाख रूपियाँ खर्च भएको संस्थाका प्रोजेक्ट कोडिनेटर ललित गहतराजले जानकारी दिनुभयो ।
भवन हस्ताक्षरसँगै यस समुदयिक भवनबाट बालबालिकालाई तत्काल निःशुल्क ट्युसन २ घण्टा, नियमित विद्यालय पठाउन, छोराछोरीलाई शिक्षित बनाउनका लागि आमाहरूलाई साक्षरता र सचेतना कार्यक्रम, बालबालिकाकालाई सरसफाई तथा पोषण युक्त खानेकुरा, किशोरी शिक्षा मनोपरामर्श लगायत कक्षा सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
पालिका अध्यक्ष यादवले जिवनको अन्धकारलाई उज्यालो र सुुन्दर बनाउन शिक्षाको महत्त्व भएको र शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर यो संस्थाले विशेष गरी मधेशमा पछाडि पारिएको मुसहर समुदायलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको सराहनीय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘शिक्षा बिना समाज परिवर्तनको कल्पना समेत गर्न सकिँदैन ।’’
पालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन यादवले मुसर समुदायमा शिक्षाको अवस्था र शिक्षाको महत्त्वको विषयमा जानकारी गराउनु भएको थियो ।