• १४ मंसिर २०८१, शुक्रबार

एमालेमा कोशी प्रदेश अधिवेशनको चहलपहल

blog

शशिधर पराजुली

विराटनगर, असोज ७ गते ।  कोशी प्रदेशमा बलियो उपस्थिति जनाउँदै आएको नेकपा (एमाले) प्रदेश अधिवेशनको अन्तिम तयारीमा जुटेको छ । 

असोज १२ र १३ गते प्रदेश राजधानी विराटनगरमा अधिवेशन आयोजना हुने सो दलले जनाएको छ । अधिवेशनको तयारीलाई तीव्रता दिइरहेको एमालेले सबै जिल्लाबाट प्रतिनिधि छान्ने काम करिब सम्पन्न गरिसकेको छ । सुनसरी र उदयपुर जिल्लाका केही पालिकाबाहेक सबै जिल्लाबाट प्रतिनिधि निर्वाचित भइसकेको एमाले कोशी प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो । 

कोशी प्रदेशको अधिवेशनमा एक हजार ४७ जना प्रतिनिधि स्थानीय तह र सङ्गठनबाट छानिएर आउने व्यवस्था गरिएको छ । पार्टी सदस्य सङ्ख्याका आधारमा प्रतिनिधि सङ्ख्या निर्धारण गरेको सचिव पाठकले जानकारी दिनुभयो । जनवर्गीय सङ्गठन र भूगोलबाट निर्वाचित भएर आउने बाहेक प्रदेश कमिटीले ५० जना सदस्य मनोनित गर्ने व्यवस्था छ । सबै जिल्लाबाट प्रतिनिधि छानिइसकेपछि मात्र प्रदेशले मनोनीत गर्ने जनाइएको छ । 

कोशी प्रदेश अधिवेशनमा ताप्लेजुङ जिल्लाबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, तेह्रथुमबाट ४३, सङ्खुवासभाबाट ३९, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६ र मोरङबाट १७८ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ । 

यसैगरी सोलुखुम्बुबाट १६, ओखलढुङ्गाबाट ४२, खोटाङबाट ५६ र उदयपुर जिल्लाबाट ३६ जना प्रतिनिधि आउने व्यवस्था गरिएको छ । विभिन्न जनसङ्गठनले ५६ जना प्रतिनिधि पठाउनेछन् । त्यसमध्ये मजदुर सङ्गठनका लागि ३२ जना प्रतिनिधिको कोटा दिएको एमालेले जनाएको छ । 

अध्यक्षका चार आकांक्षी 

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि चार जना नेता मैदानमा उत्रिनुभएको छ । आकांक्षीमध्ये मोरङबाट दुई जना हुनुहुन्छ । पार्टीका केन्द्रीय सदस्य विनोद ढकाल र घनश्याम खतिवडाले प्रदेश कमिटीको नेतृत्वका लागि तयारी गरिरहनुभएको छ । यसैगरी वर्तमान अध्यक्ष तुलसी न्यौपाने र उपाध्यक्ष टीका चेम्जोङ् पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । 

एमालेले कोशी प्रदेशमा सहमतिमा सर्वसम्मत नेतृतव निर्वाचित गर्ने जनाएको छ । तर केही समयअघि लुम्बिनी प्रदेशमा सर्वसहमतिको प्रयत्न सार्थक बन्न नसकेको परिवेशमा कोशीमा पनि निर्वाचनबाटै नेतृत्व छानिने सम्भावना बढी रहेको नेताहरुले बताउनुभएको छ । 

अध्यक्ष पदमा दाबी गरिरहनुभएका अधिकांश नेताहरुले पार्टी अध्यक्षबाट समर्थन लिने प्रयत्न गरिरहनुभएको छ । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कसैलाई पनि समर्थन नगरिसकेकाले आकांक्षी नेताहरु आन्तरिक तयारीलाई तीव्र बनाई बहुसङ्ख्यक प्रतिनिधिको समर्थन आफ्नो पक्षमा पार्न कसरत गरिरहनुभएको छ ।