• २८ वैशाख २०८१, शुक्रबार

एक खर्ब पैँतालिस अर्बभन्दा बढीको तरलता उपयोग

blog

काठमाडौँ, असोज ७ गते । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड रुपियाँ र ओभरनाइट तरलता सुविधामार्फत एक खर्ब ४४ अर्ब ७० करोड रुपियाँ गरी कुल एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका हुन् । राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद आठ खर्ब ६४ अर्ब नौ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपियाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी ४० अर्ब ५३ करोड रुपियाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर २४ करोड बिक्री गरी ३१ अर्ब ६७ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी ५३ अर्ब ४४ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

यस्तै आव २०८०/८१ को पहिलो महिनामा वाणिज्य बैङ्कहरूको पाँच खर्ब ६१ अर्ब ६७ करोड रुपियाँ र अन्य वित्तीय संस्था (वाणिज्य बैङ्कबाहेक) को ९३ अर्ब ७७ करोड रुपियाँ गरी कुल छ खर्ब ५५ अर्ब ४४ करोड रुपियाँको अन्तरबैङ्क कारोबार भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको तीन खर्ब १५ अर्ब ४९ करोड रुपियाँ र अन्य वित्तीय संस्थाको ४० अर्ब ९७ करोड रुपियाँ गरी कुल तीन खर्ब ५६ अर्ब ४६ करोड रुपियाँको अन्तरबैङ्क कारोबार भएको थियो ।

चालु आवको साउन मसान्तमा राष्ट्र बैङ्कमा रहेको सरकारका विभिन्न खातामा दुई खर्ब आठ अर्ब ९३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपियाँ रहेको थियो ।