• ६ कात्तिक २०८१, मङ्गलबार

रमाइला रसिकको एकल साँझ

blog

काठमाडौँ, असोज ७ गते । सतहत्तर वर्षका गायक गणेश रसिकले श्रोता/दर्शकलाई आफ्ना कालजयी गीत/सङ्गीत सुनाउनुभएको छ। भोजपुर छिनामखु सरोकार समाजद्वारा शनिबार राजधानीमा आयोजित गणेश रसिक एकल साँझमा उहाँले करिब पाँच दशकदेखि नेपाली गीत/सङ्गीतको क्षेत्रमा आफूले सङ्कलन गरेका, लेखेका र गाएका गीत सुनाउनुभएको हो।

गीत/सङ्गीतका साथै नेपाली साहित्यमा छुट्टै पहिचान स्थापित गर्न सफल रसिकले कार्यक्रममा हाम्रो घरबाट ट्याम्केडाँडा, तिम्रो सुन्दर रूपमा, उपत्यका बनाउन मलाई, याङ्जी नाना गीत गाउनुभयो। 

त्यसै गरी उहाँ र अन्य कलाकारले घरबेटी नानी देउन मलाई बास, कुखुरी काँ, नखेल्नु है जुवा र तास, यो नेपाली ठिटो, घर छोडी परदेश लाग्दा, आकाश जस्तो नीलो, नीलो र सातै रङ इन्द्रेणीलगायतका १५ गीत प्रस्तुत गर्नुभएको थियो। 

एकल साँझमा रसिकलाई गायक/गायिका सञ्जय तुम्रोक, रूपक चौधरी, सूर्य तुलुङ, झुमा लिम्बू, दुर्गा परियार, श्रेयासी चेम्जोङ, सत्यकला राई, सुनिता सुब्बा, शम्भु राई, साजन राई, ठुले राईलगायतले साथ दिनुभएको थियो। 

त्यसै गरी वाद्यवादनतर्फ अशोक लोहरूङ राईको सङ्गीत संयोजनमा राहुल भुजेल, भरत नेपाली, शिलाबहादुर मोक्तान, छेवाङ तेन्जिङ लामा, प्रभात तामाङ, गोपालदेव गौतम, धनबहादुर गुरुङ, अनुप दासले सघाउनुभएको थियो।

मनोहर सुनाम, केशव सुनाम, रविन कार्की ढली, मोहन कार्की ढली, भरत बुढाथोकी, जीवन राई, नरेश प्रजापति, पोषण घर्ती र शशीभूषण भट्टराईको प्रस्तुति रहेको थियो। गायक गणेश रसिकले विभिन्न गीतको सिर्जनाको कथा पनि सुनाउँदै ८० वर्षको उमेरमा एकल साँझ गर्ने रहरलाई नागरिक समाजको आग्रहमा ७७ मै पूरा गरेको पनि बताउनुभयो।