अमरराज नहर्की
तनहुँ, असोज ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आफू जनताको विकासको निरन्तर खटिरहने बताउनुभएको छ । व्यास नगरपालिका –३ बिपी वन बाटिका, दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले विकासको काममा कहिल्यै विश्राम नलिने बताउनुभयो । जनताको सेवा नै ठुलो सेवा भएको उल्लेख गर्दै पौडेलले राजनीतिमा हात नहाल्ने तर विकासबाट हात नझिक्ने प्रतिबद्धता जनाउनुभयो ।
राजनीतिक व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सबै दल मिलेर विकासका लागि एकजुट हुनुपर्ने बताउनुभयो । गाउँमै आम्दानी र रोजगारी दिनका लागि औद्योगिक क्षेत्रहरू स्थापना, कृषिमा क्रान्ति, पर्यटनको विकास, उर्जाशक्तिको विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
सुशासन दिन सकियो भने धेरै विकास गर्न सकिने राष्ट्रपतिले बताउनुभयो । जनताको अधिकारको रक्षका लागि राजनीतिक दल आवश्यक रहेको, जनताको सङ्गठित शक्तिको लागि पनि राजनीतिक दल चाहिने उहाँको भनाइ छ । उहाँले दल नभए जनता थिचोमिचोमा पर्ने तर अति दलबन्दी भयो भने निमुखाको न्याय मर्ने बताउनुभयो ।
निमुखालाई न्याय र विपन्नलाई आय दिनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘निमुखाले न्याय र विपन्नले आय पाएको छकी छैन भनेर ध्यान दिनुपर्छ ।’
तनहुँ विकासका लागि आफूले पहलकदमी गरिरहेको उहाँले बताउनुभयो । आफू स्थानीय विकासमन्त्री भएको समयमा सुरुवात गरेको केशवटार मार्ग, बुद्धसिंह मार्ग, व्यास मार्ग लगायतका मार्गको स्तरोउतिका लागि चासो दिइरहेको बताउनुभयो । दमौलीलाई धार्मिक सहरको उत्तम गन्तव्य बनाउन लागिपरेको राष्ट्रपति पौडेलले बताउनुभयो ।
व्यासको १०८ फिटको मूर्ति निर्माण, व्यास–पराशर पार्कलगायतको माध्यमबाट धार्मिक गन्तव्य बनाउने काम भइरहेको बताउनुभयो । राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घा र त्यस आसपासको क्षेत्रलाई साहित्यिक तीर्थधाम बनाउने तथा राष्ट्रिय एकताको केन्द्र बनाउने काम अघि बढेको उहाँले बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई स्तरोन्नति गरी गिरिजाप्रसाद कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सङ्घीय सरकारका सहरी विकासमन्त्री सीता गुरुङ, प्रतिनिधिसभा सदस्यहरू शङ्कर भण्डारी, प्रदीप पौडेल, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेलगायतले विकासका लागि हातेमालो गर्न जरुरी रहेको बताउनुभयो ।
सभा हल सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको सहयोगमा २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपियाँ लागतमा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौँद्वारा निर्माण गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।
‘‘यो हल निर्माणका लागि राष्ट्रपति पौडेलबाट पहिलेदेखि नै जोडबल गर्नुभएको हो’’ जिसस प्रमुख वाग्लेले भन्नुभयो, ‘‘राष्ट्रपति पौडेलज्यूबाटै उद्घाटन गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ ।’’ यसअघि राष्ट्रपति पौडेलले व्यास नगरपालिका–३ स्थित बिपी पार्कको उद्घाटन गर्नुका साथै बेलको वृक्षमा जलसिंचन गर्नुभएको थियो ।
राष्ट्रपतिले उद्घाटन गर्नु भएको बिपी पार्क र बिपीको सालिक गण्डकी प्रदेश सरकारको १० लाख र पाँच लाख रुपियाँ विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूबाट चन्दा सङ्कलनगरी निर्माण गरिएको पार्क संरक्षण समितिका अध्यक्ष सूर्यचन्द्र हड्खलेले जानकारी दिनुभयो ।