• २७ वैशाख २०८२, शनिबार

सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन : योगेशकुमार भट्टराई

blog

नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराई ।

काठमाडौं, असोज ६ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताउनुभएको छ । 

मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उहाँको भनाइ थियो । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुकलाई सबल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले शिक्षामा लगानी गर्ने कुरा वार्षिक रूपमा घट्दै जानु विडम्बनाको विषयमा भएको समेत स्पष्ट पार्नुभयो । सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको शुभारम्भ गर्न पनि सरकारलाई सचेत गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘भर्खरै संसदमा शिक्षा विधेयक दर्ता भएको छ । त्यसका पक्ष, विपक्षमा बहस, छलफल भएका छन् । एउटा लोकतान्त्रिक राज्य व्यवस्था भित्र बहस, छलफल हुने कुरालाई हामीले स्वाभाविक रूपमा लिनुपर्छ । यसले हामीलाई सही हिसाबले नै अगाडि बढाउँछ भन्ने मलाई लाग्छ । तर दुःखको कुरा विगत दशकौँदेखि नेपालको सरकार, नेपालको राज्य व्यवस्था शिक्षाको मामिलामा जति संवेदनशील हुनुपर्ने हो । त्यति संवेदनशील हुन सकेको छैन । हामीलाई लाग्छ–यो मुलुकको समग्र आर्थिक समृद्धि विकासको पहिलो जग भनेको शिक्षा नै हो । बलियो शिक्षाले मात्रै बलियो देश बनाउँछ ।’’ 

सचिव भट्टराईले लगानीको कमी भएकाले शिक्षामा सोचे अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि सरकारले अभिभावकको संलग्नतामा पनि जोड दिनुपर्ने बताउनुभयो ।