राजन रावत
हुम्ला, असोज ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको कर्णाली प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि निर्विरोध चयन हुनुभएको छ । गाउँपालिकास्तर कमिटीको भेलाबाट ती प्रतिनिधि छनौट हुनु भएको हो ।
एमाले हुम्लाका कावा अध्यक्ष डबल रावतले जिल्लाका सात वटै गाउँपालिकाबाट सङ्गठित सदस्यका आधारमा ४८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध चयन भएको बताउनुभयो ।
एमाले हुम्लाबाट प्राप्त भएको विवरणअनुसार प्रदेश प्रतिनिधि गाउँपालिका अनुसार नाम्खाबाट चार जना, सिमकोट गाउँपालिकाबाट आठ जना, खार्पुनाथ गाउँपालिकाबाट पाँच जना, सर्केगार्ड गाउँपालिकाबाट नौ जना, चंखेली गाउँपालिकाबाट चार जना चयन हुनुभएको छ ।
त्यस्तै, अदानचुली गाउँपालिकाबाट १० जना र ताँजाकोट गाउँपालिकाबाट चार जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट हुनु भएको कावा अध्यक्ष रावतले बताउनुभयो ।
यसमा दलित क्लष्टरमा ६ जना दलित प्रतिनिधि छनोट हुनुभएको छ । कुल प्रतिनिधिमध्ये १० प्रतिशत युवा छनोट गरिएका छन् । सबै प्रतिनिधि सर्वसम्मत छनोट भएको एमाले हुम्लाले जनाएको छ ।
प्रतिनिधि छनोटका लागि एमाले हुम्लाबाट केन्द्रीय सदस्य हुनुभएका नेतालाई परिचालन गरिएको सो पार्टीले जनाएको छ । एमाले कर्णाली प्रदेशको प्रदेश अधिवेशन यही असोज ९ र १० गते सुर्खेतमा हुँदैछ ।