काठमाडौं, असोज ६ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवम् आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ ।
शनिबार समाज कल्याण परिषदद्वारा काठमाडौँमा आयोजित ४४ औँ सामाजिक सेवा दिवसलाई सम्बोधन गर्नुहुँदै उहाँले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रूपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिनुभएको हो । उहाँले सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरूको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
मन्त्री आचार्यले गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरूप समाजकल्याण परिषदमार्फत सञ्चालन गर्नेगरी कार्य गर्न निर्देशन दिनुभयो । उहाँले गैरसरकारी संस्थाहरूलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषदबाट हुने अनुगमन एवम् मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाइने ब्यहोरा आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख रहेको बताउनुभयो ।
‘‘परिषदद्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरूबिचको समन्वय, परियोजनाको अनुगमन, मूल्याङ्कन, सूचना तथा तथ्याङ्क व्यवस्थापन लगायतका कार्यहरू प्रभावकारी बनाउँदै लगेको छ । परिषद्को आन्तरिक सुशासनलाई समेत मजबुत बनाउँदै सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरूको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्याउनुपर्ने आवश्यकता छ । गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरूप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्नुहुन सम्पूर्ण सम्बद्ध निकायलाई अनुरोध गर्दछु । दिगो विकास लक्ष्य हाम्रो राष्ट्रिय नीति र योजनाहरूमा एकीकृत गरिएको तथ्य पनि सबैमा विदितै छ ।,’’ मन्त्री आचार्यले भन्नुभयो, ‘‘गैरसरकारी संस्थाहरूलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषदबाट हुने अनुगमन एवम् मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाइने ब्यहोरा आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ । यसलाई कार्यान्वयन गर्दै सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रूपमा चिनाउने दिगो विकासका लक्ष्य एवम् आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुहुन सबै गैरसरकारी संस्था, परिसंघ एवम् सम्बन्धित मन्त्रालयलाई समेत आग्रह गर्दछु ।’’
मन्त्री आचार्यले परिषदद्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरूबिचको समन्वय, परियोजनाको अनुगमन, मूल्याङ्कन, सूचना तथा तथ्याङ्क व्यवस्थापन लगायतका कार्यहरू प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयो ।