अमरराज नहर्की
तनहुँ, असोज ६ गते । शनिबार गृह जिल्ला भ्रमणमा रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले व्यास नगरपालिका–३ स्थित बिपी पार्कमा राखिएको कोइरालाको सालिक अनावरण गर्नुभएको हो । सालिकको अनावरणका साथै बेलको वृक्षमा जल सिञ्चन गर्नुभएको थियो । राष्ट्रपतिले उद्घाटन गर्नु भएको बिपी पार्क र बिपीको सालिक गण्डकी प्रदेश सरकारको १० लाख र पाँच लाख रुपियाँ विभिन्न सङ्घ संस्था तथा व्यक्तिबाट चन्दा सङ्कलन गरी निर्माण गरिएको पार्क संरक्षण समितिका अध्यक्ष सूर्यचन्द्र हड्खलेले जानकारी दिनुभयो ।
२०३६ साल असोज ६ गते यही ठाउँमा रहेको बेलचौतारीबाट पहिलो पटक बिपीले उद्गार गर्नु भएको थियो – ‘‘सबै नेपालीमै सरह’ भन्दै म चाहन्छु, सबै नेपालीको एउटा बस्ने घर होस्, एउटा दुहुनो गाई होस्, बिहान र बेलुका खान पुगोस् । केटाकेटीलाई पढाउन सकुन् र बिरामी पर्दा ओखतीमूलक गर्ने सामर्थ्य होस् ।’’
गृह जिल्ला भ्रमणको क्रममा सुरुमा राष्ट्रपति पौडेलले भानु नगरपालिका –१३ मिर्लुङस्थित भयरस्थान देवता मन्दिरको पूजा अर्चना गर्नुभएको थियो । राष्ट्रपतिलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, बिपी पार्कका अध्यक्ष सूर्यचन्द्र हड्खलेलगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रपति आज शनिबार दिउँसो जिल्ला सभाहलको उद्घाटन गर्ने कार्यक्रम छ ।