काठमाडौं, असोज ६ गते । यस वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार रुकुमका टेलिभिजन पत्रकार महेश केसी र धादिङका टेलिभिजन पत्रकार शिव सिलवाललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको एक लाख रुपियाँ राशिको पुरस्कार कान्तिपुर टेलिभिजनका रुकुम संवाददाता केसी र नेपाल टेलिभिजनका धादिङ संवाददाता सिलवाललाई संयुक्त रूपमा प्रदान गरिएको हो ।
देशभर सञ्चालनमा रहेका टेलिभिजनहरूमा क्रियाशील १९ जना पत्रकारले पठाएका ३५ वटा आवेदनसहितका सामग्री मध्येबाट पुरस्कृत सामग्री छनोट भएको हो ।
वरिष्ठ आमसञ्चार विज्ञ दिलभुषण पाठक, निर्मला आचार्य, पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ्ग शाह, समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्पा राई र नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजङ्ग हमालसहितको पुरस्कार मूल्याङ्कन तथा छनोट समितिले पुरस्कृतहरूको छनोट गरेको हो ।
पुरस्कार वितरण यही असोज ७ गते आइतबार नेपाल टेलिभिजनमा विशेष कार्यक्रमको आयोजनाबिच गरिनेछ । हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा प्रतिष्ठान शाखाले २०६३ सालमा स्थापना गरेको पुरस्कार २०६४ सालदेखि हरेक वर्ष वितरण हुँदै आइरहेको छ ।