• १० मंसिर २०८१, सोमबार

रातमा भेरी नदीको झङ्कार

blog

सुर्खेतस्थित इत्राम खोलाबाट पछिल्लो रातको चिसो स्याँठमा लपेटिँदै २३ किमी दुरीको छिञ्चु ओर्लिंदा बाहिरी दृश्य अँध्यारो र निःस्तब्ध थियो । रवि भाइको सौजन्यमा मोटरसाइकल लिफ्टमा हुइँकिँदा ठण्डीको असरले शरीर लल्याकलुलुक बन्यो । रात उज्यालोमा पदार्पण नगर्दै गन्तव्य ताकेका बसको टाँटाटुँटु आवाजले छिञ्चुलाई ब्युँताइसकेको छ । म भने डोल्पो सरोवर कन्या भेरी नदीको विपरीत धारको यात्रा भर्दै ८८ किमि पूर्वतर्फ खलङ्गा जाजरकोटको यात्रामा सोझिँदै छु । खलङ्गा छिचोलिने पहिलो बसको तलासीसहित तोकिएको सिटमा मैले आफ्नो स्थान लिन्छु । मिर्मिरेमै सीमित यात्रु समेट्दै छुटेको बसले पोथ्रै पोथ्राको सालघारी फेरो क्षण भरमै नाघ्यो । अँध्यारोको पर्दामा कैद बसको कापबाट धुमिलो पहिचान खुल्दै गरेको रामनगरको बिच गर्भ भएर बसले भेरी किनारमा ओर्लिन हतारको रफ्तार लियो ।

भेरी बबई डाइभर्सन चिप्लेको आशातीत भविष्य चमत्कारको नापनक्सा खुट्याउन उज्यालो प्रहरले कञ्जुस्याइँ ग¥यो । ५१ हजार हेक्टरमा सिँचाइ र ४८ मेगावाट विद्युत् उत्पादनको स्वदेशी सिपमा निर्माण हुने तारतम्यले फुरुङ्ग भएँ म । सहयात्री कस्तुरी बिक बहिनी र चालक दिनेश थापाको सूचना सम्प्रेषणमा २०७४ साल कात्तिक २० को खलङ्गा यात्रा सुखद, सहज र रमाइलो हुँदै छ । भर्खरै मात्र उज्यालोमा ब्युँतिएकी से फोक्सुन्डो कन्या भेरी नदीलाई केही बेर बाक्लो कुहिरोले काबुमा राख्दा नदी किनारको अध्ययन भोक अतृप्तले म झस्किएँ । अब भने सर्वाङ्ग खुलेर क्षणभरमै नदी आफ्नो मौलिक रूपमा साक्षात्कार बनिन् । अत्यासलाग्दा भिर, पहरा छिचोल्दै र दुवै किनारमा झुन्डिएका विशाल उपत्यकाको उब्जनी चमत्कार फर्माउँदै सल्बलाउँदो भेरीको आवाज तत्काल यस्तो लाग्दथ्यो, मानौँ प्राचीनकालमा रणक्षेत्रमा बजाइने एक प्रकारको ढोलबाजाको प्रतीक बनेर नदी अहिले सुसाउँदै छिन् । 

से फोक्सुन्डो हिमतालबाट निकास लिई छङ्छङाउँदै बेथान कर्णाली उन्मुखमा पश्चिमतर्फ ओर्लने निलो कञ्चन भेरी बहावमा दर्जनौँ पन्छी चराचरको चिरबिर सुसेली मिसिएको छ । आरोग्यमय हिमाली सल्लाको सुसेलीसँगै निलो आकाशको संयुक्त सुन्दरता सम्मिश्रण छ । यस अर्थमा भेरीलाई मैले गुरुआमाको सङ्ज्ञा दिएँ । तत्काल मप्रति भेरीले सुम्पिएको पर्याप्त शिक्षा आर्जनको भोक तुर्न मलाई धौधौ परेको छ । विश्वप्रसिद्ध काराभान चलचित्रको सग्लो पृष्ठभूमि र त्यसको अमरनायक थिन्ले लेन्डुपको वृत्तचित्र समग्रता भेरीको छालमा अहिले सुसेलिरहेकोमा म सोह्रैआना विश्वस्त छु । साल्दाङ चलचित्र नायकको जन्मस्थल र घोडासँगै दुर्घटनामा परी दुःखद निधन भएको अतीत कथाले आज मलाई झस्काउँदै छ । तारेभिरको गल्छेडो छेप्का गाउँको दुःखद रोदन डाँको भेरीको सङ्लो धारमा सुसाइरहेको भान हुन्छ । समग्र डोल्पा, पश्चिम मुस्ताङ, रुकुम, सल्यान, जाजरकोटको जल, नलको अमृतधारा साँच्चिकै भेरीमा बगिरहेको कल्पना गर्छु । लहसिन मिल्ने लोभलाग्दो अथाह जडीबुटी हरियालीको निख्खर पसिना कस छानिएको अमृतधारा नै भेरी नदीको पूर्णता हो भन्नेमा म ढुक्क छु । 

ठूलीभेरी–सानीभेरी दिदीबहिनीका रूपमा रिम्नाघाट दोभानमा आपसमा गाँसिएर बग्ने सनातन कथा पनि घतलाग्दो मानिन्छ । दुवै नदी सङ्गम प्रेम सद्भावको प्रतीक बनेर देब्रे हातले बहिनी भेरीलाई ताते गर्दै दिदी भेरीले डो¥याएको प्राचीन कहावतले हुरुक्कै पार्छ । प्रकृतिद्वारा निर्मित बिचबिचमा गोलाकार बगर भेरी नदीको यात्रु आकर्षण चतु¥याइँ सम्झिन्छु । नागबेली भेरीको प्रत्येक कुइनेटोमा देखिने प्रकृतिको फरक फरक सुन्दरताले क्षणक्षणमा मलाई विभोर बनाउँछ । भेरीका विविध नृत्य मञ्चनले विभोर बनाउँछ । भेरीको एकाग्रतामा रत्तिएको मेरो मन यात्रुतर्फ तत्काल चोरिँदैन । स्वर्गीय अनुभव अभिनयमा हुत्तिएर बग्ने र फिँजारिएर मन्द धारमा धीरता प्रदर्शन गर्नु भेरीको कला अभिनय मानिन्छ । झरना, ताल, उपत्यका र सुन्दर जङ्गली संसारको वरदान से फोक्सुन्डो कन्या भेरीलाई मैले तत्काल चञ्चलमय उर्वसीको सङ्ज्ञा दिएँ । नदीको दुवै किनारमा स्थानीय ढुङ्गा माटोद्वारा निर्मित ठाउँठाउँका पुराना गुजुप्प घरहरू भेरीको पहिचानमा नाङ्गो भिरालो पठारको आकर्षण गहना बनेका छन् । 

भेरी नदीको सुन्दर पक्षमा डुबुल्किँदै गर्दा स्थान विशेषको पहिचान मैले पस्किनु पाठकप्रतिको न्याय हो । यसर्थ छिञ्चुबाट छुटेको क्षणभरमै जहरे, मेलकुना (पुलबजार क्षेत्र) नाघेर सल्यानी सीमाभित्र घुस्यो बस । नदीपारि पहारिलो पोखरेको भिरालो जङ्गलमा पोखिएको कलिलो घामले आफ्नो चमत्कार फर्मायो । म भने कुरिल्ले, चिसापानीको फेरोमा निकास लिएको बसको रफ्तारमा एकनासले दौडिँदै छु । सिस्ने पातालको साँघुरो गल्छीमा भने अपूर्व हर्कत देखायो भेरीले । चिल्ला पत्थरको बुई चढेर गर्जन छुटायो भेरीले । एकपछि अर्को स्थान पच्छ्याउँदै कुभिन्डे दह उन्मुख बालुवा सङ्ग्राहीको पारि दुवै आँखाले फाल हाले । टिकनीको अग्लो पहाड न्यानो घाममा रापिँदै मुसुक्क हाँस्यो । बस पनि मन्द गतिमा भेरी पुल नाघेर पुनः सुर्खेतको सल्लीबजारमा छाँटियो । वनघाट, कुभिन्डे तथा पाल्पेको अग्लो धुरीले आफ्नो पहिचान फर्मायो । अरू बसका यात्रु आ–आफ्नै घरेलु भलाकुसारीमा व्यस्त छन् । एक्लो यात्रु म मात्र भेरी किनारको अध्ययनमा लम्पट छु । यसैले उनीहरूबिचको आपसी संवादले मलाई तत्काल कुनै प्रभाव पार्दैन । प्यागोडा रङको विशाल एक/दुई वटा तोरीबारी कटे । जामुने बजार, गोजी बजार क्षेत्र पनि कट्दै गए । अब पहारिलो औलिझ्यामा कटेर एकनासले दौडिरहेको बस क्षणाचौरको फेरोमा ओर्लिने सुर कस्यो । अनि नजिकैको दमार बजारमा प्रभाती खानातर्फ हामी सोझियौँ । स्वादिष्ट, सस्तो र पोसिलो खानासँगै होटलको मृदुभाषी व्यवहार दमार बजारका सकारात्मक पक्ष थिए । कमाउनभन्दा यात्रु सेवाप्रति ध्याउन्न राख्ने दमार बजार जस्तो सद्भाव अन्य मार्गको यात्रामा आजभोलि कहाँ पाउनु र खोइ ?

क्षणभरमै भुरचौरको फेराघाटस्थित बुरुङ्गे खोलाको लामो पुल नाघेर कुदुको छेडोमा उत्रियो बस । टाढैबाट भए पनि खलङ्गाको दृश्यावलोकन कुइनेटो कुदु यसै पनि त्यस रुटको उल्लेख्य स्थान मानिन्छ । कुदुको समानान्तर नदीपारिको रुकुमस्थित चौरजहारी पुरानो विमानस्थल क्षेत्रले आधुनिक सहरिया विकासको लयलाई आत्मसात् गर्दै थियो । २०२२ सालमा निर्मित नदीमाथिको झोलुङ्गे पुल दुवै जिल्लालाई समीपमा जोड्दै लामो इतिहासको प्रत्यक्ष साक्षी बनेको थियो । मठेलाको प्रहरी चौकी कटेर क्रमशः सालघारीको फेरोमा बस जति उकालिँदै गयो, भेरी नदी त्यति तलबाट सनातन पहिचानमा बगिरहेकी अब देखिन्छ । बस केही बेरमा सदरमुकामको अन्तिम गन्तव्य मुकाला पार्कमा उक्लिएर रोकियो । सबै यात्रु हतार हतार ओर्लिएर लाखापाखा लागे । एक्लो म भने १५ मिनेटको सालघारी उकालो चढेर सामरिक दृष्टिले अति सुरक्षित जाजरकोट किल्ला खलङ्गामा उक्लिएँ । दिउँसो १२ बजेको खलङ्गा पहारिलो घाममा रनक्क तातेको थियो । सहरको सामान्य अवलोकनपछि पूर्वसर्त अनुसारकै कोलेनिका कार्यालयतर्फ सोझिएँ । अति सौम्य, शिष्ट थापा थरका कार्यालय प्रमुखको हार्दिक आतिथ्य अनुकरणीय थियो । विकट अग्लो टाकुरीको उबडखाबड दोहोरो गल्लीको बजार अवलोकन गर्दै पल्लोफाल छिचोल्न थकानले झोलिएको शरीरमा सम्भव पनि थिएन । अनि बाँकी समय कोलेनिकामै आराम गरेँ । 

कार्यालय समयपछि दोहोरो संवाद गर्दै कार्यालयमै कर्मचारीसँग रमाउँदा समय बितेको पत्तै भएन । बेलुकी अफिसमै सामूहिक मेसमा खाना खाएपछि अरू कर्मचारी आआफ्ना कोठातर्फ लागे । कार्यालय प्रमुख र सहयोगी भाइ पनि आआफ्ना ओछ्यानमा निद्राको काबुमा परी घुर्न थाले । जति घुस्रिए पनि निद्रादेवीले मेरो याचनालाई इन्कार मात्र गरिनन्, दक्षिणतर्फ ठिक तल बगिरहेकी भेरी नदीको सुसेली झङ्कारतर्फ दिगो तिर्सना साँच्न निर्देशन दिइन् । अनि भेरी नदीको एकलासे झङ्कारतर्फ एकनासले कान थापेर त्यो सुसेलिँदो तिख्खर आवाज सुन्न थालेँ । सुन्दासुन्दै रात जति छिप्पिँदै गयो, नदीको गुञ्जन त्यति नै बढोत्तरीमा झङ्कारिँदै गयो । भेरीको गुञ्जन छिप्पिँदो रातसँगै यसरी अहिले प्रतिध्वनित हुँदै छ, मानौँ विश्वप्रसिद्ध सङ्गीतकार मोजार्टको सङ्गीतलाई एकलासे भेरीको सुसेलीले अहिले माथ गर्दै छ । ओछ्यानमा आड लिएर छिप्पिँदो रातसँग तारुण्यताको सुसेली उराल्ने भेरीको एकलासे आवाजमै म कैद बनेर झुम्मिएँ । भेरी नदी र मबिचको यो अव्यक्त संवाद हामीबिचमै गुपचुप छ । हामीबिचको गोपनीयताको छिद्रान्भेषको भेद अझैसम्म कतै खुलेको छैन । 

समग्र खलङ्गा पनि छिप्पिँदो रातसँगै गहिरो निद्रामा बिस्तारै घुर्दै गयो । घुर्दाघुर्दै यति सन्नाटा छायो, मानौँ  बिजुली बत्तीको प्रकाशमा उज्यालिएको खलङ्गा चराचरविहीन अवस्थामा छ । उता भेरी भने खलङ्गाको दक्षिणी पाउको निश्चित आयतनमा बग्दै पृथक् पृथक् झङ्कार उराल्दै छिन् । खलङ्गाको मस्त निन्द्रासँगै सबै कर्मचारी भस्मासुर निद्रामा डुबिरहेको यस दुर्लभ क्षणमा अर्को आश्चर्य बनेर खोइ कुन्नि के साइनो जोड्न भेरी नदीले मलाई सुसेली आवाजको व्यञ्जन पस्किँदै छ । त्यस रातभर एक झप्को निद्रा पनि मलाई जुरेन । यो रहस्यलाई मैले मसँग भेरी नदीले प्रगाढता बढाउन खोजेको अर्थमा लिएँ । अनि एकलासे नदीको सुसेली झङ्कारलाई एकनासले सुनिरहेँ । पृथक् पृथक् स्वरको दमदार आवाज उराल्दै डोल्पोकन्या भेरीद्वारा मप्रति दर्साइएको सद्भावलाई सकारात्मक अर्थमा लिएँ । कतै स्वर्गबाट देवगणहरू भलाकुसारी गर्न मध्यरातको निर्जन प्रहरमा भेरी नदीमा ओर्लिएका पो हुन् कि भन्ने मिथक अर्थ पनि मनमनै लगाएँ । 

देब्रे हातको नाडीमा घडीको घुमिरहेको सुइरोले ३ बजेको सङ्केत दियो । समयको तलासी लिने सुरसार गर्दागर्दै नजिकको बस्तीमा भालेको पहिलो डाँक कुखुरी काँ को आवाजमा छुट्यो । एकपछि अर्को कुखुरी काँ आवाजको डाँक लर्कोमा लहरिँदै नदीवारि खलङ्गा निद्रा कचल्टाएर फाट्टफुट्ट ब्युँतिन सुरु ग¥यो । उता नदीपारि रुकुमतर्फ भने झापझुप ब्युँतिएको चौरझारी प्रभाती नियमित कर्मको अलर्टमा क्रियाशील बन्दै गयो । भर्खरै ब्युँतिएर ज¥याकजुरुक उठ्न थालेको खलङ्गाले हल्लीखल्ली मच्चाउन थाल्यो । बुरबुरे धुलोको फुइँकी उडाउँदै टाँटाटुँटु आवाज डकार्दै गन्तव्य उन्मुख बसको साम्राज्य नबढ्दै खलङ्गामा अर्को चमत्कार थपियो । त्यो थियो, नजिकैको जङ्गली फेरोमा धुर्त स्यालको हुइयाँ बढ्यो । धुर्त स्यालको हुइयाँ लखेट्ने ध्याउन्नमा डाँडाकाँडा थर्काउँदै भुस्याहा कुकुर बजारका गल्लीगल्लीमा भुक्न थाले । उज्यालो आगमनको खुसियालीमा बनेली पन्छी चराचर आफ्नै लयको मिठो रागरागिनी अलाप्दै चिरबिरमा रमाउन थाले । आवाजै आवाजको रन्कोमा सिङ्गो खलङ्गा नै एकाएक ब्युँतियो । उज्यालोको पदार्पणसँगै लज्जावती भेरीको सुसेली झङ्कार अब क्रमशः निस्तेज बन्दै गयो । लज्जालु भेरी नदीले आफ्नो उन्मत्त कौशिक यौवनको सुसेलिँदो गतिलाई गुपचुप राख्न खोजेकी पो हुन् कि ? यिनै अनुमानै अनुमानका चाङ थाप्दै सिङ्गो रातको निद्रा भेरी नदीको झङ्कारलाई समर्पण गर्न पाउँदा चङ्गासरह मेरो मन पनि क्रमशः हलुङ्गिएको महसुस भयो । 

हिउँको कल्की ओढेर स्वर्णिम हाउभाउमा पूर्वतर्फ रुकुममा अग्लिएको सिस्ने हिमाल कलिलो घामको रापमा जति लपेटियो, त्यति स्वर्णिम आभूषणमा ठाँटिँदै गयो । त्यही सिस्ने हिमालको अग्लो चुचुरोलाई नाघेर भेरीको छाल लहरमा स्वतन्त्रतापूर्वक डुबुल्किँदै पौडी खेल्न ओर्लिएका सूर्य किरणको स्पर्शमा भेरीको रूपरङ पनि तेजिलो बनेर ठाँटियो । म बसेको कोलेनिका कार्यालयबाट सात किमी दक्षिण दुरीको भेरी नदीको रातको झङ्कार मप्रति जाजरकोटको रातले सुम्पेको उपहार सम्झेँ । घामको रापसँगै खुल्दै गएकी भेरीको झङ्कार अब भने मन्दगतिमा साबिक दिनसरह स्थिर र शान्त बन्दै गयो । भेरी नदी पनि पूर्व, दक्षिण अनि पश्चिमको सनातन निकास लिएर बगिरहिन् । नदीको लेदोले माथि माथिसम्म लपेटेको थियो । तथापि भेरी भने जाजरकोट र रुकुमको समान दुरीको बिचमा सीमाबद्ध भई आफ्नो निश्चित बिन्दुमा अविरल बगिरहेकी थिइन् । 

म पनि जाजरकोटस्थित खलङ्गाको जाग्राम रात तुरेर फर्किने सुरमा सोझिएँ । भेरी नदीको रात्रिकालीन झङ्कारलाई भुलभुलैया कलाको सङ्ज्ञा दिएँ । अनि दुर्लभ रातमा भेरी नदीले मप्रति सुम्पिएको स्वागत सत्कारलाई हृदयमा साँचेर खलङ्गा बसाइको समय अब टुङ्गिएको घोषणा गर्दै फर्कने तरखरमा लागँे । अनि मुकाला पार्कमा यातायातको लिफ्ट लिन सर्सर्ती ओर्लिएँ । खलङ्गाको एक रातमा आर्जन गरेको भेरी नदी झङ्कारको अद्भुत ऐश्वर्य दुवै आँखामा टाँसेर फिर्ती बसमा सामेल भएँ । फनक्क एक पटक पछाडि फर्केर खलङ्गाको रूपरेखा चियाउँदै अन्तिम बिदाइ नमस्कारका दुवै हात हल्लाइसक्दा बस कुदुको फेरो कटेर क्षणाचौरतर्फ सोझियो । अनि मेलकुनो, सल्लीबजार, रामघाट, चिप्ले हँुदै सिङ्गो रातको बसाइ जाजरकोटलाई सुम्पेर भोलिपल्ट दिवा प्रहरमा पुनः म छिञ्चु छिचोलिएँ । 

Author

हेमराज पाण्डे