• १६ मंसिर २०८०, शनिबार

मलङ्गवामा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन

blog

सदरमुकाम मलङ्गवामा परिचालित सशस्त्र प्रहरी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असोज ५ गते । सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्दासमेत प्रदर्शन रोकिएको छैन । गणेश पूजाको मूर्ति सेलाउन लैजाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि मलङ्गवा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको हो । 

निषेधाज्ञाकै बीच मलङ्गवाका विभिन्न स्थानमा शुक्रबार दिनभर प्रदर्शन भयो । जिल्ला प्रशासन कार्यालयमा समेत ढुङ्गामुढा प्रहार भएको छ । प्रदर्शन अराजक बन्दै गएपछि शुक्रबार दिउँसो २३ शेल अश्रुग्यास प्रहार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीमाथि समेत बेलाबेलामा ढुङ्गा प्रहार भइरहेको छ । 

निषेधाज्ञाको पालना गराउन तथा थप अप्रिय घटना हुन नदिन मलङ्गवामा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । निषेधाज्ञा आदेश र बेलाबेलामा भइरहेको प्रदर्शनका कारण मलङ्गवा बजारका सम्पूर्ण पसल व्यवसाय बन्द छन् । 

शुक्रबार बिहानैबाट कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । निषेधाज्ञा र तनावका कारण हाटबजार बन्द र यातायातका साधन सञ्चालन नहुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन नदिन कर्फ्युलाई निरन्तरता दिइएको बताउनुभयो । मलङ्गवास्थित शिवसागर चोक नजिकको पोखरीमा मुर्ति विसर्जन गर्न लैजाँदै गर्दा भएको झडप नियन्त्रणका क्रममा बिहीबार राति पनि नेपाल प्रहरीले पाँच सेल र सशस्त्र प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेका थिए । 

झडपकै क्रममा एक घरमा भएको आगजनी मलङ्गवा नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार झडपमा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका छन् । 

मलङ्गवामा यसअघि श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउनेक्रममा पनि विवाद भइ निषेधाज्ञा जारी गर्नुपरेको थियो । त्यसपछि स्थिति सामान्य बन्दै गइरहेको अवस्थामा बिहीबार राति पुनः माहोल बिग्रिएपछि तनाव उत्पन्न भएको हो । 

यसैबीच, शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय-सर्वपक्षीय समन्वय सहजीकरण बैठकले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई पक्राउ गरी हदैसम्म कारवाही गर्ने, घटना गराई मानवीय तथा भौतिक क्षति पुर्याउने व्यक्ति पहिचान गरी निजबाटै क्षतिपूर्ति भराउने र आगामी दिनमा यस प्रकारका घटना हुन नदिन सबै पक्षबाट गम्भीरतापूर्वक आ–आफ्नो दायित्व निर्वाह गर्ने निर्णय गरेको छ । 

यस्तै, गणेश पूजाका सबै मूर्ति एकै ठाउँमा राखेर शुक्रबार बेलुका ५ बजेदेखि ७ बजेसम्म विसर्जन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।