काठमाडौं, असोज ५ गते । नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य कमरेड खेमराज भट्ट ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत भएको जनाएको छ ।
माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष एवम् गृहमन्त्री नारायणकाकजी श्रेष्ठद्वारा जारी शोक वक्तव्यमा दिवंगत कमरेड मायालुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
लामा समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित मायालुको ७६ वर्षको उमेरमा बिहीबार राति १०ः२५ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिनुभएका उहाँले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । पछि उहाँ रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिनुभएको थियो ।
विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उहाँको सम्पति सर्वस्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । उहाँका दुई छोरा छन् । श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेकाे थियो । उहाँको आजै पशुपति आर्यघाट अन्त्येन्टि गरिनेछ ।