• २१ वैशाख २०८१, शुक्रबार

अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित

blog

गलकोट (बागलुङ),  असोज ५ गते ।  बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर  परिवार विस्थापित भएको छ ।

नाली निर्माणका क्रममा चर्किएको घर गए रातिको वर्षाका कारण पूर्णरुपमा भत्किएको हो । बागलुङ नगरपालिकाले अहिले मरेपीपलमा अतिक्रमण सडकमा भएका संरचना हटाउने तथा सडक बिस्तार गर्ने र नाली निर्माण गरिरहेको छ ।

नाली विस्तारका लागि जग खन्नेक्रममा भारी वर्षा भएपछि नालीको पानी घरमा पसेर घर भत्किएको हो । नाली निर्माण गर्दा जोखिममा परेको घर वर्षाको पानीले स्थानीय भगवती सापकोटाको घर भत्किएको हो ।

दुईतले कच्ची घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताउनुभयो । आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बागलुङ नगरपलिकाले घर निर्माणमा सहयोग पुर्‍याउने आश्वासन दिएको छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भत्किएको घरको स्थलगत अनुगमन गर्नुभएको थियो । खड्काले विपन्न समुदायलाई घर बनाउन विपद् शाखामार्फत सहयोग गरिरहेको बताउँदै सापकोटाको घर निर्माणमा बागलुङ नगरपालिकाको क्षमताअनुसार सहयोग गर्नेगरी कार्यपालिकाको बैठकमा लैजाने बताउनुभयो ।

बागलुङ नगरपालिकाका इञ्जिनियर तथा विपद् शाखाका संयोजक गौरव शर्माले नगरपालिकाले नाली विस्तारका क्रममा कच्ची घरभित्र बर्खाको पानी परेका कारण घर भत्किएको बताउँदै क्षतिपूर्तिको मूल्याङ्कनअनुसार घर बनाउन सहयोग गर्ने बताउनुभयो ।

अहिले सापकोटाको घरबाट पुरिएका सामग्री निकाल्न स्थानीयले सहयोग गरिरहेको बालमन्दिर टोल विकास संस्थाका अध्यक्ष खिमराज सापकोटाले बताउनुभयो । “सापकोटाको परिवारलाई घर बनाइदिन आवश्यक छ, टोल विकासको समन्वयमा नगरपालिका र जिल्ला प्रशासनमा निवेदन दिएका छौँ”, उहाँले भन्नुभयो, “घर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।”

सापकोटाका अनुसार टोल विकास संस्था र स्थानीयको सहयोगमा भत्किएको घर पन्छाउने कार्यमा जुटिरहेको बताउनुभयो । सापकोटालाई रेडक्रसमार्फत खाद्यान्न उपलब्ध गराइएको छ । रासस