• २१ वैशाख २०८१, शुक्रबार

गिट्टी बालुवाको तस्करी, पालिका मौन

blog

नवलपरासी समाचारदाता 

कावासोती, असोज ५ गते । पूर्वी नवलपरासीका खोलामा ढुङ्गा, गिट्टी बालुुवाको निकासी र दोहन सुरु भएको छ। गत असार महिनादेखि भदौसम्म खोलामा गिट्टी, बालुवा, ढुङ्गा उत्खनन रोकिएको थियो। 

नगर र गाउँपालिकाले उत्खनन गर्न नदिने निर्णय गरे पनि अहिले ती खोलामा चोरी बढेको छ। वातावरणीय मूल्याङ्कन प्रतिवेदन बनाइसकेपछि मात्र ठेक्काको काम सुरु हुने भनिएको थियो। खोलाको ठेक्का असोजबाट लाग्ने भनिए पनि असारदेखि नै खोलाबाट करोडौँको गिट्टी, बालुवा, ढुङ्गा चोरी निकासी भइरहेको छ। हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले त्यसलाई रोक्न खटाइएका गाउँपालिकाका सुरक्षाकर्मीलाई निर्घात कुटपिट हुँदा दुई जना सख्त घाइते भएको बताउनुभयो। 

पूर्वी नवलपरासीका गाउँपालिका र नगरपालिकाले वार्षिक ७५ करोडभन्दा बढी गिट्टी, बालुवा र ढुङ्गाबाट कर सङ्कलन गर्ने गर्दछन्। तीन महिना असार, साउन र भदौमा भने ठेक्का नलगाइने भए पनि त्यही तीन महिनामै सबैभन्दा बढी चोरी निकासी भए पनि नगर र गाउँपालिका रमिते भएर बसेको स्थानीय बताउँछन्। 

बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले चोरी निकासी अत्यधिक बढेको र यसलाई रोक्न आफूले पटक पटक कोसिस गरे पनि सफल हुन नसकेको बताउनुभयो। उहाँले पालिकाका नदी तथा खोलाबाट मात्रै करोडौँको दोहन भएको बताउनुभयो। नागरिक अगुवा वसन्त पोखरेल सबैभन्दा जोखिम मानिएको गिट्टी, बालुवाको बढ्दो दोहन रोक्न नसक्ने हो भने तस्करको बिगबिगी अझै बढेर जाने बताउनुहुन्छ। 

देवचुली, कावासोती, मध्यबिन्दु, गैँडाकोट, नगरपालिका, बुलिङटार, बौँदीकाली, हुप्सेकोट र विनयीत्रिवेणी गाउँपालिकामा रहेका खोलानालामा अवैध रूपमा गिट्टी, बालुवाको चोरी निकासी भइरहँदासमेत पालिकाहरू गम्भीर हुन नसक्नु तस्करलाई प्रश्रय दिनु हो।  देवचुलीका विजय पङ्गेनी तीन महिनामा नै सात करोडभन्दा बढीको गिट्टी, बालुवा, ढुङ्गा दोहन हुने बताउनुहुन्छ। स्थानीयका अनुसार रातिको समयमा खोलामा गिट्टी, बालुवा, ढुङ्गा चोरी निकासी भइरहेको छ।