• २१ वैशाख २०८१, शुक्रबार

भूमिहीन सुकुम्वासीलाई जग्गाको निस्सा वितरण

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज ४ गते । संविधान दिवसको अवसर पारेर गोरखाको भिमसेनथापा गाउँपालिकाले पालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा जग्गा प्राप्त गर्ने प्रमाणपत्र वितरण गरिएको छ । भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी चित्र बहादुर अधिकारीले जानकारी दिनुभए अनुसार ७३ जनालाई निस्सा जग्गा प्राप्त गर्ने प्रमाणपत्र वितरण गरिएको हो ।

पालिकाभित्र रहेका अव्यवस्थित बसोबासी ४८ जना, भूमिहीन सुकुम्वासी १४ जना र भूमिहीन दलित ११ जनालाई निस्सा वितरण गरिएको गाउँपालिकाका फोकल पर्सन शङ्कर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय भूमि आयोग गोरखाका अध्यक्ष कमला नहर्की, सदस्य विपिनचन्द्र ढकाल र गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा अक्कलले सयुक्त रूपमा उहाँहरूलाई निस्सा वितरण गर्नुभएको हो । 

२०७८ सालबाट प्रक्रिया सुरु भएपनि बुधबार पहिलो चरणको निस्सा वितरण कार्य सम्पन्न भएको गाउँपालिकाको अध्यक्ष लोक प्रसाद बन्जराले जानकारी दिनुभयो । अबको केही समयममै जग्गाको लालपुर्जा वितरणको पक्रिया सुरु हुने पनि गाउँपालिकाले जनाएको छ । 

भूमि आयोग गोरखा सहित नापी कार्यालयबाट प्राविधिकहरू फिल्डमा गएर नापजाँच गर्ने र जग्गा वितरण गर्नका लागि प्रक्रियाअघि बढ्ने गाउँपालिकाका अध्यक्ष बन्जराको भनाइ छ । सोही क्रममा उनीहरू बसेको ठाउँमा जग्गा खोजी गरिने र त्यहाँ नपाएको खण्डमा सार्वजनिक जग्गाको खोजी गरिने बन्जराले जानकारी दिनुभयो । 

अबको दुई महिनाभित्र भीमसेन थापा गाउँपालिकाभित्रका ७३ जना भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुको हातमा लालपुर्जा पुग्ने गाउँपालिकाका अध्यक्ष बन्जराले विश्वास व्यक्त गर्नुभयो ।