• २१ वैशाख २०८१, शुक्रबार

७९ वर्षीय देउबहादुर थापा

‘काम गर्न सकेसम्म वृद्धभत्ता लिन्न’

blog

सामाजिक सुरक्षा भत्ता नलिने देउबहादुर थापा । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज ४ गते । दैनिक काम नगरे हात र मुख जोड्न धौधौ हुने भएकोले  ७९ वर्षीय देउबहादुर थापा दिनहुँ काममा खटिनुहुन्छ। राज्यबाट पाउने सुविधा लिने हो भने उहाँले केही दिन आराम गरेर खान पुग्छ तर उहाँ सुविधा लिन भन्दा काम गर्नमा आनन्द मान्नुहुन्छ। 

तनहुँको भिमाद नगरपालिका–३ दरकाङ घर भएर अहिले सदरमुकाम दमौलीमा दैनिक ज्यालादारी गरेर जीवन यापन गर्नुभएका थापा आर्थिक रुपमा विपन्न भए पनि मनको धनी हुनुहुन्छ । थापाले राज्यबाट ज्येष्ठ नागरिकको लागि पाउने सामाजिक सुरक्षा भत्ता लिनुहुन्न भने बचेको रकम दान दक्षिणा दिने गर्नुहुन्छ । 

देश आर्थिक रुपमा कमजोर भएकोले भत्ता लिन मन नलागेको थापाले बताउनुभयो। जेष्ठ नागरिक भत्ता अहिलेसम्म आफूले नलिएको र काम गर्न सकुञ्जेल भत्ता नलिने उहाँको भनाइ छ । 

उहाँ दमौलीमा एक्लै बस्नुहुन्छ । उहाँका सन्तान छैनन् । एक श्रीमती रोग लागेर बितेको त्यसपछि बिहे गरेको श्रीमतीले दोस्रो बिहे गरेकोले  एक्लै जीवन काट्नुभएको हो ।  ज्यालादारीबाट  दैनिक पाँच सय रुपियाँ आम्दानी हुने त्यसैबाट खर्च धानेको उहाँले बताउनुभयो । 

एक्लै बस्ने भएकोले ठुलो खर्च नभएको आफैँले कमाएकोले खर्च धानेकाले  राज्यबाट भत्ता लिन मन नलागेकोले भत्ताको लागि आवेदन नदिएको थापाले भन्नुभयो । उहाँका तीन भाइ र दुई बहिनी छन् ।  खर्च गरेको बचेको रकम पनि दान दक्षिण दिने गरेको उहाँ बताउनुहुन्छ । थापा भन्नुहुन्छ, ‘‘मरेर लानु केही छैन, लिन नपरोस् दिन पाइयोस् ।’’

थापा विगत लामो समयदेखि भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा घाँसका बिरुवा उत्पादनको लागि दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ । 

सरकारबाट भत्ता लिनुस् बसी खाने उमेरमा आराम गर्नुस् भन्दा मान्नुहुन्न केन्द्रका प्राविधिक रुद्रसिंह ठकुरीले भन्नुभयो । सम्पन्न भएका नागरिकले पनि भत्ताको लोभ गर्ने गर्छन् तर उहाँमा राज्यबाट सुविधा लिन हुँदैन भन्ने भावना रहेको पाएको ठकुरी बताउनुुहुन्छ ।   हाल रोग लागेर बिरामी हुन नपरेको थापाले बताउनुभयो । 

काम गरेर पसिना बगाउने भएकोले मलाई रोगले आक्रमण गर्न नसकेको थापा बताउनुहुन्छ । मासिक चार हजारको भत्ता लिनको बदलामा आठ दिन गर्न ठिक लागेको उहाँको भनाइ छ ।