• २१ वैशाख २०८१, शुक्रबार

अव्यवस्थित तारले बजार कुरुप बन्दै

blog

कावासोती क्षेत्रमा टाँगिएका अव्यवस्थित तार ।

मीना कंडेल

कावासोती, असोज ४ गते । अव्यवस्थित तारले नवलपुर बजार कुरुप बन्दैगएको छ । अव्यवस्थित तारका कारण बजार कुरुप र जोखिमपूर्ण बनेको छ । इन्टरनेट सेवा विस्तारका नाममा बिभिन्न सेवा प्रदायक कम्पनीले अब्यवस्थित रुपमा विद्युत् तथा सोलारका पोलमा जथाभावी तार टाङ्गने काम गरेसँगै नवलपुरका मुख्य चोक तथा बजार कुरुप बन्दैगएको छ । 

जिल्लाका मुख्य शहर गैंडाकोट, दलदले, कावासोती, चोरमारा र दुम्किवासलगायतका ठाउँमा रहेका बिजुली र सोलारका पोलमा अव्यवस्थित रुपमा तार टाँगिएका छन् । विद्युत् वितरणका लागि गाडिएका पोलमा थाम्नै नसकिने तारका गुजुल्टाले शहर विगत केही वर्ष यता कुरूप बन्दैगएको छ ।

देवचुलीका राम भण्डारीले भन्नुभयो, “अस्तव्यस्त तारका कारण दुर्घटना हुनेगरेको घटना समय समयमा सुन्नमा आउँछ । तर यो नौलो भने होइन, कतै पोल ढल्छ, तार चुँडिन्छ, तर समयमै मर्मत हुँदैन । जसले हामी उपभोक्ता प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा मारमा परिरहेका छौं ।” 

विद्युत् प्राधिकरणले नियमित रूपमा अनुगमन नगदाँ र यस विषयमा चासो नराख्दा अव्यवस्थित तारका गुजुल्टाले शहरको स्वरूप बिग्रँदैगएको कावासोतीका सागर क्षेत्रीले बताउनुभयो । जथाभावी तारले दुर्घटना निम्त्याउने मात्र नभइ बजार नै फोहोर देखिएको उहाँले बताउनुभयो ।

अधिकांश स्थानमा बिजुलीका पोलमा आगलागी हुने कारण भनेको बिजुलीको तार नभइ इन्टरनेटका तार देखिएको नेपाल विद्युत प्राधिकरण गैँडाकोट शाखा प्रमुख सुजन रिजालले बताउनुभयो । तार छरपष्ट भएको, घर नजिकका पोलहरुमा रहेका तारका कारण कुरुप देखिएको उहाँले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण नवलपुर शाखाका सूचना अधिकारी पदमराज हमालले विद्युतका पोल बिग्रेमा, जलेमा कार्यालयले जुनसुकै बखत मर्मत सम्भारको काम गरेको तर शहरको सुन्दरताकाे विषयमा कुनै काम र पहल नगरेको बताउनुभयो । 

सडक विस्तारका क्रममा पोलहरुमा अनावश्यक टाँगिएका तारहरु सम्बन्धित ठेकेदारले कार्यालयमा बुझाउनुपर्नेमा हालसम्म कुनै ठेकेदारले काम सकिएपछि बढी भएका तारहरु समेत कार्यालयमा नबुझाएको बताउँदै आगामी दिनमा स्थानीय तहको समवन्यमा सम्बन्धित पालिकाका चोक तथा बजार क्षेत्रमा आवश्यक अनुसार नियमन गर्न विद्युत् कार्यालय तयार रहेको हमालले बताउनुभयो ।