• १३ मंसिर २०८१, बिहिबार

माओवादी रूपान्तरण नेतृत्व स्तरबाट हुनुपर्छ : मातृका यादव

blog

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादव । तस्बिरः नेत्र शाही जुम्ला ।

नेत्र शाही

जुम्ला, असोज ३ गते। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले माओवादी रूपान्तरण नेतृत्व स्तरबाट हुनुपर्ने बताउनुभएको छ। 

माओवादी केन्द्रले जुम्लामा आयोजना गरेको रूपान्तरण अभियानको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले माओवादी मिले चुनाव एक्लै लडेर जित्ने सम्भावना भएको भन्नुहुँदै सो कुरा बताउनुभएको हो। 

नेता यादवले पार्टी रूपान्तरण अभियानको क्रममा कर्णालीमा नेता कार्यकर्ताको कमी नभएको तर एकले अर्काको सफलतालाई स्विकार्न नसकेका कारण कार्यकर्ता समेत विचलित हुने गरेको भनाइ राख्नुभयो। उहाँले सबै जिल्लामा गुट–उपगुट हटाउन र सच्चिन रूपान्तरण अभियान आवश्यक रहेको औँल्याउनुभयो। 

उहाँका अनुसार माओवादीको इतिहासमा पार्टी टुक्रा हुँदा कोही सफल नभएको तर मिल्दा सफल हुँदै गएको देखिएको बताउनुभयो। 

जनता ठीक ठाउँमा भएको तर वडादेखी माथिल्लो तहको नेताको व्यवहारका कारण पार्टीले धोका व्यहोर्नुपरेको उहाँले भन्नुभयो। यस्ता विषयमा ध्यान नदिइएकाले माओवादीलाई असफलता मिल्ने गरेको समेत उहाँको भनाइ छ। 

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले रूपान्तरण अभियानमा एक अर्काबिच भएका कमीकमजोरी स्वीकार गर्दै एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। 

पार्टी रूपान्तरण अभियानमा जुम्लाले उत्कृष्ट काम गरेकोमा धन्यवाद पनि दिनुहुँदै उहाँले माओवादी सच्चिए जिल्लाका सात वटा स्थानीय तहको निर्वाचन जित्न सकिने भनाइ राख्नुभयो।

माओवादी केन्द्रले सुरु गरेको तीन महिने अभियानको क्रममा गरिएको समीक्षा कार्यक्रममा रूपान्तरण अभियानको जिल्ला इन्चार्ज छिमी लामाले जुम्लामा अभियान प्रभावकारी भइरहेको जानकारी गराउनुभयो। 

उहाँले कार्यतालिका अनुसार वडा हुँदै गाउँ बस्तीमा सो अभियान अघि बढेको बताउनुभयो। माओवादीले दोस्रो चरणमा पालिका स्तरमा र तेस्रो चरणमा जिल्ला स्तरमा कार्यक्रम गर्दैछ।