• ७ जेठ २०८१, सोमबार

संविधान दिवस नेपाली जनताको साझा दिवस हाे : अध्यक्ष ओली

blog

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, असोज ३ गते । संविधान दिवस नेपाली जनताको साझा दिवस भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताउनुभयो । ‘यो एउटा जाति विशेषको दिवस होइन, यो एउटा भूगोल विशेषको दिवस नभएर आम नेपालीको साझा दिवस भएको बताउनुभयो । 

बुधवार काठमाडौँको नक्सालको नारायण चौरमा पार्टीले आयोजना गरेको राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एउटा पेसा, व्यवसाय विशेषको दिवस होइन । यो दिवस सम्पूर्ण नेपाली जनताहरूको मेची—महाकाली र प्रवास जहाँ भए पनि नेपाली जनताको मुलुकको साझा दिवस हो । सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो । देशभित्र हाम्रो राष्ट्रिय भावना, हाम्रा राष्ट्रिय आकाक्षाहरु, समृद्ध नेपाल, सुखी नेपालीका राष्ट्रिय आकाक्षाहरु यस दिवसले समेटेको उहाँले बताउनुभयो । 

उहाँले जनताको एकता, उन्नतिका लागि विभाजनकारी प्रवृत्ति, जनतामा खटपट ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पुर्‍याउने प्रवृत्ति, क्षेत्रीय, साम्प्रदायिक, जातीयतावादी अथवा विभिन्न आस्थाका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरू राष्ट्रिय एकताको पक्षमा नरहेको जिकिर गर्नुभयो ।

देश र जनताका लागि जनताले जारी गरेको संविधान बनेको छ । कहीँ कतै हाम्रा उपलब्धिहरूलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापबाट यस्ता प्रयासहरू छिटपुट रूपमा हुने गरेका देखिन्छन् । त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई भङ्ग गर्ने खालका जुनसुकै काम, विचारहरू सकारात्मक कुरा हुन सक्दैन । जनताको एकता, उन्नतिका लागि यस्ता विभाजनकारी प्रवृत्तिहरू, जनतामा खटपट ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतामा खलल पुर्‍याउने प्रवृत्तिहरू, क्षेत्रीय, साम्प्रदायिक, जातीयतावादी अथवा विभिन्न आस्थासँगका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरू राष्ट्रिय एकताको पक्षमा छैनन् ।

त्यसले हाम्रो राष्ट्रिय एकतालाई कमजोर पार्छ । यस्ता कुरा गर्नु हुँदैन भन्ने आग्रह गर्न चाहन्छु । सरकारलाई म भन्न चाहन्छु, सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउने, गलत क्रियाकलापलाई प्रोत्साहन गर्ने, बढवा दिने र सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरू सरकारले गर्नु हुँदैन ।’