• ७ जेठ २०८१, सोमबार

उपराष्ट्रपति यादवद्वारा संविधान दिवसको शुभकामना

blog

काठमाडौँ, असोज ३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  

“सिङ्गो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “हजारौँ नेपालीको बलिदान, योगदान आहुति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको संविधान, २०७२ आजकै दिन [असोज ३ गते] जारी भएको सम्झना र सम्मानमा मनाइने संविधान दिवस ९राष्ट्रिय दिवस० को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।”

उहाँले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेको समाजवादोन्मुख आर्थिक सामाजिक प्रणाली तथा गणतन्त्रात्मक सङ्घीयता, समावेशितालाई सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा उहाँले सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन ध्यानाकर्षणसमेत गराउनुभएको छ ।  

“सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन अति आवश्यक र अपरिहार्य छ । यसप्रति सम्बन्धित सबैको ध्यानाकृष्ट हुने विश्वास लिएको छु”, सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।  

उपराष्ट्रपति यादवले वैदेशिक रोजगारीका लागि युवा बिदेसिने क्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नका लागि सरोकारवाला सबैलाई आह्वान गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षका क्रममा ज्यान गुमाउनुभएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र अङ्गभङ्ग भएकाप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ ।