• १४ मंसिर २०८१, शुक्रबार

चाडपर्वमै बजार सुनसान

blog

ग्राहक नआउँदा सुनसान बनेको दमौलीस्थित सफा सडक । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

दमौली, असोज २ गते । तनहुँको मुख्य व्यापारिक क्षेत्र सदरमुकाम दमौली लगायतका बजार क्षेत्र चाडपर्वको बेला समेत सुनसान देखिन्छ । ठुलो चाड दसैँ, तिहार नजिक आएपनि किनमेल गर्नेको चहलपहल हुन नसकेको व्यापारीहरूले बताएका छन् । 

अघिल्ला वर्ष बजार क्षेत्रको पसलमा ग्राहकको बढी नै भिडभाड लाग्ने गरेको थियो । अन्य समयमा कमी आएपनि चाडपर्वमा चहलपहल हुने आशा गरिएको भएपनि आर्थिक मन्दिको प्रभावले ग्राहक नै नआउँदा व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ । तीजको बेला पनि व्यापारले गति लिन नसकेको व्यवसायीले बताएका छन् । 

प्रत्येक वर्ष चाडपर्व आउँदा तथा नजिकिँदै गर्दा सामान किनमेल गर्ने ग्राहकको भिडभाड लाग्ने गरेको थियो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्त्रकुमार श्रेष्ठ व्यापार हुने मुख्य समयमा नै चहलपहल नहुँदा व्यवसायीहरू मर्कामा परेको बताउनुभयो । चेनतेज चाडपर्वको बेला व्यापार हुन्छ कि भनेर व्यवसायी बसेका तथा आर्थिक मन्दीको प्रभावले गर्दा सतही रूपमा मानिस देखिएको र व्यापारमा कमी भएको बताउनुभयो । 

मालपोत लगायतको कित्ताकाट खुल्न ढिलाइ हुनु चाडपर्व मनाउने रौनक हराउनु, आर्थिक मन्दी, उपभोक्ताको क्रय शक्ति घट्नु लगायतले चहलपहल नभएर व्यापार शून्य भएको छ अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । अध्यक्ष श्रेष्ठ आयातमुखी अर्थतन्त्र निरुत्साहित गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन सरकारले जिम्मेवार भएर अर्थतन्त्र सुधार गरे मात्रै आर्थिक मन्दीको अन्त्य गर्न सकिने बताउनुहुन्छ । लत्ताकपडा तथा खाद्यान्नसहित सवारीसाधन र मोबाइल लगायतका इलेक्ट्रोनिक्स सामग्री किनमेल गर्ने प्रचलन गरे पनि यस वर्ष बजार सुनसान देखिन्छ ।

सदरमुकाम दमौलीमात्रै नभई अन्य बजार पनि यस वर्ष खासै व्यापार नभएको पाइएको तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मङ्गलप्रसाद श्रेष्ठले जोस र जाँगर भएका, रमाइलो गर्नेहरू विदेश गएकोले तीज जस्तो चाडपर्वमा समेत बजार सुनसान भएको बताउनुभयो । साथै आर्थिक मन्दीले गर्दा गाउँका मानिसहरू बजार नझर्दा सहर सुनसान हुन पुगेको श्रेष्ठ बताउनुहुन्छ । 

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका सभापति भूपाल आलेले पृथ्वीराजमार्गको स्तरोउन्ती काम ढिलो भएकोले व्यापार प्रभावित भएको बताउनुभयो । धेरै धुलो उड्ने भएकोले हिँडडुल गर्न मुस्किल पर्ने र बिरामी पर्ने डरले गाउँका मानिस बजार नझर्दा व्यापार प्रभावित भएको बताउनुभयो ।  

व्यास नगरपालिका–४ दमौली निवासी ८० वर्षीय देवनिधी पन्थले तीजको दिनमा समेत गीत गाउने नाच्ने मानिस सदरमुकाममा नदेख्दा अचम्म लागेको बताउनुभयो । नदीमा नुहाउने र बजारमा तीजको गीत गाउनेको विगतमा भिडलाग्ने गरेकोमा यो वर्ष सुनसान भएकोले पसलहरूमा मानिसको भिडभाड नभएको पाएको बताउनुभयो ।  

दमौलीको सफा सडकस्थित छाब्दी वाराही सुनचाँदी पसलका सञ्चालक विकास सुनारले चाडपर्वमा समेत बजारमा मानिस नआउँदा व्यवसायीहरू निराश हुनु परेको बताउनुभयो । विगतका वर्षमा ग्राहक थामी नसक्नुको भिड हुने गरेकोमा यसपटक ग्राहक नआएको बताउनुभयो ।