बोदेबरसाइन समाचारदाता
बोदेबरसाइन (सप्तरी), असोज १ गते । बोदेबरसाइन नगरपालिका पूर्ण साक्षर नगर घोषणा भए पनि यहाँका मुसहर तथा दलित बस्तीका ९० प्रतिशत नागरिक अझै औँठाछाप नै रहेका छन्।
नगरपालिका–६, प्रितमपुरस्थित पाँच सय परिवारको दुई वटा मुसहर बस्तीमा १९० जना नागरिक अनपढ रहेको पाइएको छ। वित्तीय संस्था तथा सहकारीहरूको समूहमा आबद्ध भएकालाई खाता खोल्न संस्थाका कर्मचारीले महिलाहरूलाई जसोतसो हस्ताक्षर गर्न सिकाएको छ।
“नगरपालिकाले महिनाको तलब दिएर आफूहरूलाई पढाउन पठाएको भनेर दुई/तीन दिन मास्टर्नी आएको हो तर हामीलाई केही सिकाउनु भएन। हामी समूहमा बस्नका लागि सही गर्नै पर्छ भन्ने बाध्यताले समूहकै दिदीहरूले हात समातेर सिकाउनुभयो। अब सँगैका साथीले हात समातेर भए पनि आफ्नो नाम लेख्न सिकेका छौँ,” मुसहर बस्तीका कलिया सदा भन्नुहुन्छ।
यस बस्तीका पुरुषहरू भने कार्यालयका काममा अहिले पनि औँठाछाप नै प्रयोग गर्दै आएका छन्। “हामीलाई नामसम्म लेख्न कसैले सिकाएन। सानैदेखि अनपढ हौँ र अहिले पनि छौँ,” बस्तीका बिदेसी सदा भन्नुहुन्छ। विभिन्न १२ वटा आधार सूचक राखेर बोदेबरसाइन नगरपालिकालाई असार १८ गते भव्य समारोहका बिच पूर्ण साक्षर नगर घोषणा गरिएको थियो।
साक्षरतासम्बन्धी सघन कक्षा नै सञ्चालन नगरी प्रदेशकै साक्षर नगरपालिकाका रूपमा नगरलाई चिनाउने होडबाजीमा यस्तो घोषणा गरिएको स्थानीय युवा धनकिशोर साह बताउनुहुन्छ। स्थानीय अनोजकुमार यादव बताउनुहुन्छ, “नगरको बजेटले छिन्नमस्ता विकास सेवा नामक एक संस्थाले साक्षरता अभियान सघन कक्षा सञ्चालनको सम्झौता गरेका थिए भन्ने अनुगमनको जिम्मेवारी आसमान नेपालले पाएका थिए तर ती वर्गसम्म न त संस्था पुगे न नियमनकारी निकाय।”