• १० मंसिर २०८१, सोमबार

दुरूह समालोचनाको ग्रन्थ

blog

समालोचना आफैँमा एक जटिल विधा हो। साहित्यका अनेक विधाका पुस्तक अध्ययन गरी त्यसमाथि आफ्नो विचार प्रस्तुत गर्नु समालोचनाको गुण हो। त्यस्तै गुणी समालोचकका रूपमा देखा पर्नुभएको छ युवराज मैनाली । उहाँ आफ्नो पठनमा जुनसुकै विधाका पुस्तक परेपछि र त्यसको सहज पठन गरेपछि त्यसबारे सहज ढङ्गमै समालोचना गर्न अग्रसर भइहाल्नु हुन्छ । यसको अकाट्य उदाहरण भएर देखा परेको छ ‘दृष्टि ः दृष्टिकोण’ समालोचना सङ्ग्रह । यस समालोचना सङ्ग्रहमा रहेका २९ वटा समालोचनाहरू मैनालीका स्वतन्त्र अध्ययनपछि निसृत स्वतन्त्र समालोचनाहरू हुन् । यस पुस्तकको प्रकाशकीयमै भनिएको छ, ‘प्रस्तुत कृतिमा लेखक केन्द्रितभन्दा पाठक केन्द्रित समालोचनाको बढी प्रयोग भएको छ ।’ यसै आधारलाई मनन गरी उहाँले समालोचना गर्नुभएका पुस्तकहरूको सिर्जना शक्तिलाई पनि ध्यानमा राखी यहाँ समालोचक मैनालीको प्रस्तुत समालोचना कृतिमाथि सङ्क्षेपमा समीक्षा गर्ने जमर्को गरिएको छ ।

यथार्थमा युवराज मैनाली निःसङ्कोच, निर्धक्क रूपमा विवेचना, विश्लेषण गर्ने र कृतिमाथि आफ्नो विचार लेखिदिने समालोचक हुनुहुन्छ भनेर भनिदिँदा कुनै अतिशयोक्ति नहुने प्रमाण यस पुस्तकभित्रका समालोचनाहरूले दिएका छन् । यसभित्र फम्र्याटभित्र पर्ने समालोचना जस्तो नभई साहित्यका विधाहरू जे जस्तो ढङ्गले पठन गरियो, त्यस्तै ढङ्गमा गरिएको समालोचनाको रूपमा समावेश भएका छन् । साहित्यका विधाहरू, जस्तो– कविता, महाकाव्य, कथा, उपन्यास, निबन्ध, नियात्रा, नाटक आदि विधामा सिर्जना गरिएका कृतिहरूका बारेमा यस सङ्ग्रहभित्रका समालोचनाबाट अध्ययन गर्न सकिन्छ । यहाँनेर यसरी भनिदिँदा केही फरक पर्ने छैन, त्यो के भने युवराज मैनाली यस्ता समालोचक हुनुहुन्छ, उहाँले कविता पढ्नु हुन्छ, कथा पठन गर्नु हुन्छ, नाटक हेर्नु हुन्छ, महाकाव्य पढ्नु हुन्छ, निबन्ध नियाल्नु हुन्छ, नियात्रा हिँड्नु हुन्छ, अनि ती सबैबाट आफ्नो पाठकीय मनलाई केही उद्वेलित भएको बोध गर्नु हुन्छ र आफ्नो उद्वेलित मनको वहलाई समालोचनाको रूपमा पोख्नु हुन्छ। अनि आफ्नो कलमलाई जुन विधाका पुस्तकबारे समालोचना गर्न लागिएको हो, त्यसको यथार्थ रूपमा भन्दा अलि माथि पुगेर अति विशेष्य बनाई दौडाउनु हुन्छ। यो गुणलाई जटिल, दुरुह, अति गम्भीर आदि जे संज्ञाले विशेषित गरे पनि यथार्थमा युवराज मैनाली केही जटिल रूपमै समालोचना गर्ने समालोचक हुनुहुन्छ, यसको प्रमाण उहाँको यसै समालोचना सङ्ग्रहले दिएको छ ।

त्यसैले यस सङ्ग्रहका समालोचनाहरूलाई अध्ययन गरेपछि एउटा कुराचाहिँ के बोध हुन्छ भने युवराज मैनाली हेर्दा जति सरल हुनुहुन्छ, त्यति नै दुरूह रूपमा लेखन गर्ने समालोचक हुनुहुन्छ । सरलभन्दा सरल रचना भएका पुस्तकलाई पनि उहाँ निकै गम्भीरताका साथ अध्ययन गरेर गह्रुँगो प्रकारले समालोचना गरिदिनु हुन्छ । जुन पुस्तकका लागि उहाँले यस्तो गम्भीर समालोचना गरिदिनुहुन्छ, त्यो पुस्तक त्यति गम्भीर भएको बोध हुँदैन । भनाइको अर्थ हो, जुनसुकै विधाका पुस्तकलाई पनि उहाँ दुरूह पारामा समालोचना गरिदिने समालोचक हुनुहुन्छ भन्ने नै हो । उहाँको समालोचनाको भाषा यसैले पनि दुरूह भएर रहेको छ, जसको उदाहरण यसरी हेरौँ– ‘लेखनमाथिको लेखन लाग्छ, एउटा पीयूष वर्षा हो । लेखकका निम्ति एउटा सञ्जीवनी हो । सञ्जीवनी रङ, स्वाद आदि वर्णित त छैन तापनि अनुमान यसरी लगाइन्छ यो मह झैँ मिठासपूर्ण पक्कै छैन; तीतो, टर्रो, पिरो आदि यसको स्वरूप हुनु पर्छ या त एकै शब्दमा भनूँ–उत्तेजक रहेको हुनु पर्छ । निस्तेजलाई तेजमा परिवर्तन ल्याउन मलिलाले काम गर्नै सक्दैन। यहाँ प्रसङ्ग छ साहित्यको। स्रष्टाका सिर्जनालाई केलाउने, निफन्ने, छाँट्ने यावत् जुन कामको चाल्नीद्वारा छान्ने काम हुन्छ। यसैलाई दाँज्नुपर्दा समालोचनालाई सञ्जीवनीकै रूपमा छनोट गर्न पुग्छु : (आफ्नै कुरा)।’ उहाँको यो कथनबाट पनि बोध हुन्छ, सङ्ग्रहको नामकरण दृष्टि ः दृष्टिकोण गरिनु उहाँको यही दुरूह चिन्तन नै हो ।

उहाँको उपर्युक्त कथनलाई पठन गर्दा केही सकस लाग्छ, उहाँले भन्न खोज्नुभएको हो– कुनै पनि पुस्तकको अध्ययनपछि गरिने प्रक्रिया समालोचनाको धर्म हो। यस सङ्ग्रहभित्र समावेश भएका पु्स्तकका स्रष्टा वरिष्ठदेखि हालसम्मका छन् । क्षेत्र प्रतापका दुई कवितासङ्ग्रहबारे चिन्तन, जगदीश घिमिरेको नाटकबारे मन्थन, विनोद अश्रुमालीको साना खाले कविताको सङ्ग्रह, जसलाई समालोचक मैनालीले मुक्तकीय भन्नुभएको छ, त्यसबारे समीक्षण, अनिता तुलाधरको कथासङ्ग्रहबारे प्रदक्षिणा, किशोर पहाडीका कथाहरूबारेको विवेचना, धरावासीको दुई उपन्यासबारे मन्थन, दुबसु क्षत्रीको विशालकाय कवितासङ्ग्रहका साथै अन्य केही सर्जकका पनि सिर्जनामाथि दृष्टिकोण पु¥याइएका समालोचनाहरू यस सङ्ग्रहमा सङ्कलित भएका छन् । 

यहाँ एउटा कुरा के भन्न सकिन्छ भने समालोचक युवराज मैनालीको समालोचना कर्मले प्रस्फुटन हुनलाई उहाँले आफ्नो निवृत्ति जीवन प्राप्त गरेपछिको समयलाई कुर्नु परेको बोध हुन्छ । किनभने यसअघि उहाँले केही सिर्जना रचना गर्नुभएको र समालोचना गर्नुभएको पनि थाहा लाग्छ, उहाँको व्यक्तिगत परिचयबाट । उहाँका कथासङ्ग्रह एक, लघुकथासङ्ग्रह एक, समालोचनासङ्ग्रह तीन र व्यङ्ग्य निबन्धसङ्ग्रह एक प्रकाशन भइसकेका छन् । उहाँका जति पनि समालोचना गुण देखिए, त्यो उहाँको निवृत्तिभरणपछि प्रखर रूपमा देखा परेका छन्, यो सत्य उहाँको समालोचना लेखन पढेपछि स्वतः पनि बोध हुन्छ । 

यसरी समग्रमा भन्नुपर्दा के भनूँ भने समालोचक युवराज मैनाली अन्य विधाका स्रष्टाको रूपमा भन्दा पनि बढी समालोचना विधाकै सर्जकका रूपमा मुखर र प्रखर देखिनु भएको रहेछ । यो भनाइको प्रमाण उहाँको यस समालोचनासङ्ग्रह ‘दृष्टि : दृष्टिकोण’ले दिएको छ । यसैले प्रस्तुत समालोचनासङ्ग्रह समालोचक युवराज मैनालीको मेहनती गुणको द्योतक भएर देखा परेको छ भन्न कुनै कन्जुस्याइँ गर्नै पर्दैन । समालोचक मैनालीलाई नेपाली समालोचना क्षेत्रमा अझ सशक्त र प्रखर ढङ्गमा लागिरहने समालोचकका रूपमा लिँदै उहाँको कलमको गतिले व्याप्ति समाओस् । ३१२ पृष्ठको यस पुस्तकको प्रकाशक साझा प्रकाशन रहेको छ । मूल्य भने ५८०/– रुपियाँ छ ।