• १४ मंसिर २०८१, शुक्रबार

बाढीपीडितलाई राहत

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), भदौ २९ गते । मुस्ताङको कागबेनीका बाढीपीडितलाई ४० लाख रुपियाँभन्दा बढी राहत रकम हस्तान्तरण गरिएको छ। मुस्ताङ बाह्गाउँ लोछोदुन सेवा सङ्घ काठमाडौँद्वारा सङ्कलन गरिएको चालिस लाख ३५ हजार ५९५ रुपियाँ बाढीपीडितलाई प्रदान गरिएको हो। 

काठमाडौँमा बसोबास गर्ने सङ्घमा आबद्ध २११ जनाबाट उक्त रकम सङ्कलन गरिएको हो। गत साउन २८ गते कागखोलामा आएको बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा ठुलो मात्रामा भौतिक क्षति पुगेको थियो। कागबेनीका बाढीपीडितको राहतका लागि विभिन्न संस्था राहत सङ्कलनमा जुटेका छन्। 

कागबेनी बाढी प्रभावितको राहतका लागि सञ्चालन गरिएको अभियानका क्रममा सेवा सङ्घमा आबद्ध भएकाबाट ३८ लाख २९ हजार ५९५ र मनाङ समाजबाट दुई लाख पाँच हजार नगद सङ्कलन भएको थियो। सहयोग रकम संविधान सभा सदस्य टसी स्याङ्बो गुरुङ, सङ्घका सदस्य भूपाल गुरुङ र खुमसुङ गुरुङसहितले कागबेनी बस्ती पुनस्र्थापना तथा संरक्षण समितिका संयोजक फेञ्चोक छेप्तने गुरुङमार्फत बाढीपीडितलाई नगद हस्तान्तरण गर्नुभयो। 

कागबेनी बस्ती पुनस्र्थापना तथा संरक्षण समितिलाई कागखोला व्यवस्थित गर्न चार लाख दुई हजार राहत उपलब्ध गराइएको छ। कागखोला मिलन युवा क्लबलाई एक लाख, कागछोदे गुम्बालाई दुई लाख ७५ हजार, जनशान्ति माध्यमिक विद्यालयलाई पचास हजार रुपियाँ हस्तान्तरण गरिएको छ। कागबेनी श्रद्धास्थल संरक्षण समितिलाई एक लाख र कागबेनी–तिरी जाने बाटो निर्माणका लागि एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरिएको संविधान सभा सदस्य गुरुङले जानकारी दिनुभयो। 

उहाँले बाढीपीडितका लागि राहत सङ्कलन र कागबेनी पुनर्निर्माणका लागि मुस्ताङी एकजुट हुनुपर्ने बताउनुभयो। कागखोलाको बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख रुपियाँ बराबरको क्षति भएको छ। 

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकी भवन, तटबन्धनलगायत भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख बराबरको क्षति पुगेको तथ्याङ्क छ। स्थानीयका ५० घरमा ५२ करोड रुपियाँभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ। बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशुचौपाया मरेका थिए।