संयुक्त राष्ट्रसङ्घले सन् २००७ मा हरेक वर्षको १५ सेप्टेम्बरलाई लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेयता बर्षेनि लोकतन्त्रसँग सम्बन्धित महत्वपूर्ण एवं ठोस मुद्दामा केन्द्रित गरेर बहस र संवाद चलाइँदै आएको छ । संयुक्त राष्ट्रसङ्घले ‘आउँदो पुस्ताको सशक्तीकरण’ लाई यस वर्षको लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको मूल नाराका रूपमा प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय दिवसका रूपमा १५ सेप्टेम्बर त्यति धेरै चर्चित नरहेको भए पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रमा समाविष्ट स्वतन्त्रता, समानता र भ्रातृत्व जस्ता सिद्धान्तप्रति ऐक्यबद्धता जनाउने विश्वभरिका परिवर्तनकामी जनसमुदायले समाजको अग्रगामी रूपान्तरणको पक्षमा यस दिवसलाई सदुपयोग गर्नु औचित्यपूर्ण नै ठहर्छ ।
यसै सन्दर्भमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनिओ गुटर्रेसले आउँदो पुस्ताको सशक्तीकरणलक्षित यस वर्षको सन्देशमा बालबालिका तथा युवा पुस्ताको शिक्षा, सिप विकास र निरन्तर सिकाइमा व्यापक लगानी गर्नुपर्नेमा विशेष जोड दिनुभएको छ । युएन महासचिवको तात्पर्य स्पष्टै छ कि हाम्रा बालबालिका तथा युवा पुस्तालाई मानसिक, नैतिक एवं व्यावहारिक तवरबाट सक्षम नबनाई लोकतन्त्र जनजीवनमा असली अर्थमा कार्यान्वयन हुन सक्तैन । त्यसका निम्ति प्राचीन ग्रिसका दार्शनिक एरिस्टोटलले जोड दिए झैँ बालबालिका तथा युवा पुस्ताको असल चरित्र निर्माण गर्ने शिक्षामा प्रशस्त लगानी गर्नु पर्छ ।
एरिस्टोटलको चरित्र निर्माण गर्ने शिक्षा दिनुपर्ने तर्कले आजको समाजकेन्द्रित भन्दा नाफाकेन्द्रित शिक्षा प्रणालीले गाँजेको विश्वमा झन् धेरै सान्दर्भिकता राख्छ । यसलाई आजको सन्दर्भमा र विशेषतः नेपाली समाजको वस्तुस्थितिमै टेकेर सरलीकरणसहित अथ्र्याउन सकिन्छ । गतिलो शिक्षा तमाम जनमुदायका लागि प्रत्याभूत गरेर मात्रै असल मानवको उत्पादन गर्न सम्भव हुन्छ । परिणामतः असल मानवको सङ्ख्या बढ्दै गएपछि समाजमा असल राजनीतिज्ञ, असल शिक्षक, असल कर्मचारी, असल प्राविधिक, असल व्यापारी जस्ता जनशक्तिको निर्माण उल्लेखनीय रूपमा बढ्दै जान्छ । नागरिक नै असल र सक्षम हुन थालिसकेपछि उसले जुनसुकै विषयगत क्षेत्रको जिम्मेवारी सम्हाले पनि इमानदारीपूर्वक समाजको हित प्रवर्धन हुन्छ । जसका कारण समग्रतः सुशासन कायम हुन्छ ।
प्राचीन ग्रिक दार्शनिक एरिस्टोटल र वर्तमान युएन महासचिव गुटर्रेसले जोड दिए झैँ नेपालले पनि बालबालिका तथा युवा पुस्ताको असल चरित्र निर्माण गर्ने गुणस्तरीय शिक्षामा व्यापक लगानी गर्नु आवश्यक छ । शिक्षालाई नैसर्गिक मानव अधिकारका रूपमा नीतिगत रूपले नै सबैका लागि प्रत्याभूत गर्न सकेमा पाँचदेखि दस वर्षकै अवधिमा ठुला सकारात्मक परिवर्तन देखा पर्ने छन् । असली शिक्षा समाज रूपान्तरणको मूल कडी रहेछ भन्ने कुरा त्यतिखेर बल्ल राजनीतिक नेतृत्व पङ्क्तिको मनले टड्कारै महसुस गर्ने छ ।
अहिले बालबालिका तथा युवा पुस्तालक्षित शिक्षामा राज्यका तर्फबाट अति न्यून लगानी छ । शिक्षालाई विकास र जनसमृद्धिको मूल आधार मानेर सबै नागरिकका लागि प्रत्याभूत गरिएको हुन्थ्यो भने करिब आधा करोड नेपालीको गन्तव्य खाडी मुलुक किन हुन्थ्यो र ? त्यस्तै मुसहर, चमार, सार्की जस्ता अत्यन्त सीमान्तकृत समुदायको राजनीतिक, आर्थिक एवं सामाजिक विकासको सूचाकाङ्क अझै किन पिँधमुनि नै पुरिन्थ्यो होला र ?
हामीकहाँ सधैँ लोकतन्त्र खतरामा परेको आवाज गुन्जिन्छ । लोकतन्त्रलाई सम्पूर्ण नेपाली जनताको जीवनकै अङ्ग बनाउन सक्ने हो भने लोकतन्त्र कदापि खतरामा पर्दैन । यसका निम्ति नेपाली जनतामा गुणस्तरीय चिन्तनको विकास गर्नुपर्ने हुन्छ, जसका खातिर आधारभूत कदमका रूपमा बालबालिका तथा युवा पुस्ताका लागि गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्नु आवश्यक हुन्छ । नयाँ पुस्तालाई असल लोकतन्त्र हस्तान्तरण गर्न उनीहरूको पहुँचयोग्य शिक्षामा लगानी गर्नु पहिलो महत्वको काम बन्न जान्छ । किनभने संयुक्त राष्ट्रसङ्घको विश्लेषण अनुरूप युवा वर्तमान तथा भविष्यको लोकतन्त्रका संरक्षक हुन् । उनीहरूलाई अहिले सशक्तीकरण गर्न नसके लोकतन्त्रको जग जर्जर हुनु अस्वाभाविक हुँदैन ।
हामीकहाँ त्याग र बलिदानले भरिएको कठोर र लामो राजनीतिक सङ्घर्षको इतिहास छ । अमेरिका तथा युरोपका संविधानमा नलेखिएका कतिपय उपलब्धि हामीहरूले हाम्रो संविधानमा दस्ताबेजीकृत गरेका छौँ तर पनि हाम्रो चिन्तन र नैतिक गुणस्तर रूपान्तरित हुन सकेको छैन । राज्यका अङ्गप्रत्यङ्गलाई हामीले अझै मनोवैज्ञानिक, नैतिक, सामाजिक–सांस्कृतिक एवं रणनीतिक दृष्टिकोणबाट तत्वान्तरण गर्न सकेका छैनौँ । यो कथनको पछाडि अनगिन्ती प्रमाण छन् । केवल केही मात्रात्मक एवं रूपकेन्द्रित हेरफेर गरेका छौँ ।
लोकतन्त्रको सबलीकरण र सुरक्षा गर्न मनग्गे ऊर्जा चाहिन्छ, जसका निम्ति जनताको मानसिकताको सबलीकरण आवश्यक पर्छ । मानसिक सबलीकरणका लागि गुणात्मक शिक्षाको जग निर्माणमा प्रशस्त लगानी गर्नु पर्छ । कलिला र हुर्कंदो पुस्ताको गुणात्मक शिक्षामा जति लगानी र मेहनत गरिन्छ, सामान्यतः सोही अनुपातमा लोकतान्त्रिक चेत, व्यवहार तथा संस्कृतिको विकास हुँदै जान्छ । आउँदो पुस्ताको सशक्तीकरणको मुद्दाले धेरै पक्षलाई समेट्न सक्छ तर तिनको मानसिक, नैतिक, सामाजिक, राजनीतिक र सांस्कृतिक सशक्तीकरणले उच्च प्राथमिकता पाउनु पर्छ ।
लोकतन्त्रको असलीपनको अनुभूति गर्न शिक्षामा व्यापक लगानी हुनु पर्छ भन्ने राष्ट्रसङ्घीय सन्देशको मूल तात्पर्य पनि यही हो । हुन पनि दोस्रो विश्वयुद्धपछि जुन जुन देशले शिक्षामा व्यापक लगानी गरे, ती अहिले राजनीतिक, आर्थिक र सामाजिक रूपले पनि अग्रणी स्थानमा छन् । यस सन्दर्भमा एउटा गतिलो प्रमाण लिन सकिन्छ । सन् १९१७ को अक्टोबर क्रान्तिअघिसम्म तत्कालीन रुसका अधिकांश श्रमजीवी जनताले नारकीय पीडा भोग्नु परिरहेको थियो ।
अक्टोबर क्रान्तिपछि भने तत्कालीन सोभियत रुसले शिक्षामा पहिलो प्राथमिकताका साथ अभूतपूर्व लगानी ग¥यो । यसको परिणामस्वरूप उसले सन् १९६१ मा २९ वर्षीय युरी गागरिन र सन् १९६३ मा २६ वर्षीय भ्यालेन्तिना तेरेस्कोभालाई संसारमै प्रथम पुरुष तथा महिला अन्तरिक्ष यात्रीका रूपमा आकाशतिर सफलतापूर्वक उडायो । अक्टोबर क्रान्तिलगत्तै शिक्षामा अभूतपूर्व लगानी नगरेको भए सन् १९३९
देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धबाट लगभग तहसनहस भइसकेको मुलुकले १४ वर्षभित्रै त्यस्तो उच्चस्तरीय वैज्ञानिक उपलब्धि हासिल गर्न सम्भव हुन्थ्यो होला र ?
ज्ञान, गुण र विज्ञानको विकासमा तीव्रता ल्याउने दृढतासहित वर्तमान व्यापारीकृत तथा सङ्कीर्ण उपभोक्तावादी शिक्षा प्रणालीबाट वैज्ञानिक शिक्षा प्रणालीमा फड्को मार्ने ध्येयसहित नेपालमा शिक्षा नीति र शिक्षा ऐन आउनु पर्छ । नयाँ शिक्षा ऐनमा स्टेम शिक्षा (विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र गणित) लाई उच्च महत्व दिइनु पर्छ । यसरी मात्र आउँदो पुस्ताको वास्तविक सशक्तीकरण सम्भव बन्छ । नत्र विश्वव्यापीकरणले तेस्र्याएका चुनौतीले नेपाली समाजलाई अझ थिच्दै जाने छ । अहिले नै पनि तत्सम्बन्धी असर देखा पर्न थालिसकेका छन् ।
सामाजिक सञ्जालमा तौरिरहेका अनेक प्रकारका श्रव्यदृश्य सामग्री र जथाभावी प्रयोग भएका गलत भाषा र पदावलीलाई सही रूपले प्रशोधन गरी अर्थ निकाल्न सक्ने क्षमतामा विद्यमान कमीका कारण नयाँ पुस्ताले अनेक पीडा झेल्नु परिरहेको छ । सामान्य मानिसको सञ्चारमा पहुँच बढ्नु सकारात्मक कुरा भए पनि त्यसको अपहरण गरी मुनाफा सोहोर्ने होडमा आपराधिक सञ्जालहरू बढी सक्रिय भइरहेका छन् । त्यसैले नयाँ पुस्तालाई दिइने शिक्षामा अनिवार्य रूपमा समसामयिक सञ्चार साक्षरताको सैद्धान्तिक एवं प्रयोगात्मक पाठ्यक्रम पनि समावेश गर्नु जरुरी छ ।
लोकतन्त्र सफल वा विफल हुने कुरा सम्बन्धित राष्ट्रले बालबालिका तथा युवा वर्गलाई प्रज्ञाप्रधान शिक्षा दिइरहेको छ कि छैन भन्ने तथ्यमा भर पर्छ । किनभने प्रज्ञाप्रधान शिक्षा प्रणालीले ज्ञान, गुण र विज्ञानको विकासमा विशेष जोड दिन्छ । प्रज्ञाप्रधान शिक्षा प्रणालीले अनुसन्धान र अनुभूतिसँग साइनो राख्छ । यसले जसरी तसरी परीक्षा उत्तीर्ण गर्ने असंवेदनशील प्रकारको शिक्षा प्रणालीसँग नाता तोड्छ । बरु कलिलै उमेरदेखि करुणा र मैत्री जस्ता मानवीय गुणको विकासलाई महत्व दिन्छ । यसले तथ्य र वस्तुगत तथ्याङ्कका आधारमा निर्णय गर्ने क्षमताको विकास गर्छ ।
विकासको मार्गचित्र एवं परिकल्पना कोर्न र प्रणालीको निर्माण गरी समाजलाई व्यवस्थित तवरले परिचालन गर्न प्रज्ञाप्रधान शिक्षाले निर्णायक भूमिका निर्वाह गर्छ । सारमा आउँदो पुस्ताको गुणस्तरीय शिक्षामा व्यापक लगानीसहित अवसरको उपभोग गर्न सक्ने लोकतान्त्रिक वातावरण निर्माण गर्ने चिन्तन र नीतिबाट मात्र हाम्रा बालबालिका तथा युवा वर्गको मात्र होइन सिङ्गै नेपाली समाजको सशक्तीकरण हुने छ ।