प्रेमराज सिम्खडा
कालीकोट, भदौ २७ गते । कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको सुनाखोलामा यात्रुलाई कहिल्यै पनि सहज भएको छैन । २०६३ सालमा कालीकोट राष्ट्रिय राजमार्गसँग जोडिएदेखि कालीकोटको सुनारखोला पहिरो बग्न नरोकिँदा बर्सेनि सास्ती खेप्दै आएका छन् । वर्षातको समयमा सुनारखोला दैनिक अवरोध यहाँ यात्रा गर्ने सबैले दुख भोक्दै आएका छन् ।
गत शनिबारदेखि परेको पानीले आजसम्म उक्त सडक खण्डमा यातायातका साधनलाई एक्स्काभेटर तानेर गन्तव्यतर्फ पठाउने गरेको छ ।
वर्षासँगै बगिरहने हिलोका कारणले सुनार खोलामा सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नु परेको छ । सडक डिभिजन कार्यालय जुम्लाले अवरोध हटाउन एक एक्स्काभेटरलाई सुनारखोलामा राखेको छ । दैनिक यातायातका साधनलाई तानेर हिलोबाट कटाउने गरेको छ । हिलाम्मे सडकका कारण दैनिक यात्रुहरू कष्ट भोग्न बाध्य छन् ।
आफन्तको वार्षिक अन्त्येष्टिका लागि हुल्म गएर फर्किनु भएका कालीकोट थुबिथाका धिरेन्द्र शाही सोमबार दिउँसो तीन बजेदेखि सुनार खोलाको पहिरोमा गाडी पास नहुँदा रोकिनु भएको छ । करिब चार घण्टा पछि बेलुका ७ बजे तिर मात्र जाम खुलेपछि उहाँ मान्म पुग्नु भयो । यो समस्या उहाँको मात्र होइन, उहाँ जस्तै धेरै यात्रीले यस सडकमा सास्ती बर्सभरि खेप्न बाध्य भएका छन् ।
सुर्खेतबाट दैलेख हुँदै कालीकोटको मान्मसम्मको दूरी जम्मा १५१ किलो मिटर छ । बढीमा ७ घण्टामा यात्रा गर्न सकिने सुर्खेतदेखि मान्मसम्मको सडक अवरुद्ध हुँदा २४ घण्टासम्म लाग्ने गरेको यात्रुहरूको गुनासो छ । पानी पर्ने बित्तिकै सुनार खोलाको दलदले हिलोमा गाडी फसेर यात्रुलाई सास्ती हुने गरेको छ ।
उक्त स्थानमा १६ वर्षदेखि नै अवरोध हुने गरेको स्थानीयको गुनासो छ । बर्सेनि ठेक्का हुने गरे पनि गुणस्तरीय काम नहुँदा पानी पर्ने बित्तिकै सडकमा गाडी घण्टौँसम्म फस्ने गरेको समस्या सुनारखोलाको हो । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने कर्णाली राजमार्गको सुनार खोलाको पहिरोले वर्षौँदेखि यात्रुलाई सास्ती दिँदै आएको छ । पहिरो रोकथामका लागि सडक डिभिजन कार्यालय जुम्लाले अहिले बाटो निर्माण सुरु गरेपनि पुरा नहुँदा समस्या उस्तै छ । पहिरो रोक्न ग्याविन जाली सहितको काम पनि भइरहेको छ ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले सुनार खोला सडकको एक साइटमा आसिसि गर्न लागेकाले अव धेरै दिन यात्रुले सास्ती खेप्नु नपर्ने बताउनुभयो । पानी परेकाले माथिबाट पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो, अहिले पहिरो हटाउने काम भइरहेको प्रजिअ माझिले सुनाउनुभयो । वर्षातका कारण कर्णाली राजमार्गको पादुका, दैखोला, कालेखोला, हुल्म, सेरिघाट, सुनार खोला, ताडी, पिली, टिमुरे भीरमा सडक बिग्रिएकाले यात्रुलाई सास्ती हुँदै आएको छ ।