• १२ मंसिर २०८१, बुधबार

वायु प्रदूषण मापनमा सस्तो विधि

blog

नेपालमा मनसुन सकिएसँगै बिस्तारै वायुमा प्रदूषणको मात्रा बढ्दै जान्छ र वायु प्रदूषणको समस्याले आमनागरिक प्रभावित हुने गरेका छन् । नेपालमा विशेष गरेर काठमाडौँ उपत्यका र तराईका सहरमा सुक्खा याममा वायु प्रदूषणको समस्या विकराल बन्ने गरेको छ । 

हावामा विभिन्न ग्यास तथा कण प्राकृतिक रूपमा नै रहन्छन् तर मानव सृजित स्रोतको कारणले यस्ता तत्वको अधिक वृद्धि हुँदा वायु प्रदूषित हुने गर्छ । नेपालको सहरी क्षेत्रको सन्दर्भमा यातायातका साधन, उद्योग कलकारखाना, खुला रूपमा जलाइने फोहोर, सडक छेउ थप्रिएको धुलो तथा टाढा स्थानबाट हावासँगै बहँदै आउने धुलोको कणलाई यसको मुख्य स्रोत मान्न सकिन्छ । वायुलाई प्रदूषित गर्ने तत्वलाई सहजताका लागि ग्यास तथा कण (ठोस र तरल मिश्रित) मा विभाजन गर्न सकिन्छ । ती मध्ये नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड बढी मात्रामा पाइने तथा मानव स्वास्थ्यलाई असर गर्ने ग्यासहरू हुन् । हावालाई प्रदूषित गर्ने अर्को प्रमूख तत्व ठोस र तरल मिश्रित कणलाई पार्टीकुलेट म्याटर (पिएम) पिएम भनिन्छ । जसलाई यसको व्यासको आधारमा वर्गीकरण गरिन्छ र यसको कुनै निश्चित आकार हुँदैन । 

मानव स्वास्थ्यमा विशेषत असर गर्ने कणको आकार निकै सानो हुन्छ । यसको आकार अन्दाज गर्दा मानिसको रौँसँग तुलना गर्न सकिन्छ । मानिसको रौँको गोलाइ लगभग ५०– ७० माइक्रोन हुन्छ । यी कणहरू मानव श्वास प्रश्वाससम्बन्धी रोगको प्रमुख कारक तत्व मानिन्छन् । सन् २०१९ मा नेपालमा भएको मृत्युमध्ये १६.३ प्रतिशत मृत्यु चिकित्सकीय भाषामा क्रोनिक अब्स्ट्रक्टिभ पुल्मोनरी डिजिज भनिने श्वास प्रश्वास नलिमा हुने समस्याका कारण भएको तथ्याङ्कले देखाएको छ । यसका ती कणहरूले फोक्सोसम्बन्धी समस्या, मुटु रोग, दमलगायत कम तौल भएको बच्चा जन्मिने समस्या निम्त्याउँछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा मात्र वायु प्रदूषणको कारणले बर्सेनि ४२ हजार १०० मानिसको ज्यान जाने गरेको छ र जसमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका पर्ने गरेका छन् ।

वायुमा प्रदूषणको मात्रा कम गर्न सबैभन्दा पहिले त प्रदूषणको मात्रा कति छ भनेर पत्ता लगाउन आवश्यक छ । वायु प्रदूषण मापन गर्ने विभिन्न प्रविधि छन् । वायुमा भएको प्रदूषणलाई उपकरणको सहायताले मापन गर्न सकिन्छ । अन्तरिक्षमा भएका  स्याटेलाइटको माध्यमले पनि पृथ्वीको विभिन्न भागको प्रदूषणको अवस्थाको मापन गर्न सकिन्छ तर  स्याटेलाइटबाट सानो परिधिको तथ्याङ्क उपलब्ध गराउन मुस्किल हुन्छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले २७ वटा स्थानमा वायु प्रदूषण मापन सयन्त्र जडान गरेको छ । 

विभागले जडान गरेको उपकरणहरू उच्च प्रविधियुक्त हुनुका साथै तिनले सटिक मात्रामा प्रदूषण मापन गर्दछन् तर ती उपकरणहरू निकै महँगा खालका छन् । ती उपकरणका पार्टपुर्जा महँगा हुनुका साथै बिग्रिएका पुर्जा मात्र प्रतिस्थापन गर्न पनि विज्ञ आवश्यक पर्ने गर्दछ । ती उपकरणलाई जोगाउन ठुलो स्टेसनभित्र राख्ने गरिन्छ । तिनलाई भिडभाड भएको ठाउँ, सङ्कुचित ठाउँ, बजार, सडक आदि स्थानमा राख्न सकिँदैन । त्यसैले सहरी क्षेत्र, जहाँ प्रदूषणको अनेकन स्रोत हुन्छन्, त्यस्ता ठाउँ विशेषको प्रदूषण स्थितिको मापन गर्न कठिन देखिन्छ । यस्तो कठिनाइ नेपालमा मात्र होइन, विश्वका अन्य मुलुकमा पनि रहेको अध्ययनले देखाएको छ । 

यस्तै कठिनाइको विकल्पको रूपमा विश्व बजारमा सस्तो तथा सानो हलुका मापन यन्त्र निकै व्यापक रूपमा प्रयोग हुन थालेका छन् । एउटा वायु प्रदूषण मापन यन्त्रको कुनै स्थानमा सम्पूर्ण स्थापनाको खर्च एक करोड रुपियाँको हाराहारी पर्छ भने यस्ता सस्ता उपकरण केही लाख रुपियाँ भित्रमा आउँछन् । कतिपय उपकरण सञ्चालनका लागि बिजुली र इन्टरनेट आवश्यक पर्दछ र त्यसको अलग खर्च भने जोड्नुपर्ने हुन्छ । यी उपकरणहरू सानो र हलुका हुने भएकाले जुनै पनि स्थानमा राख्न सकिन्छ । यस्ता उपकरणलाई साधारण मानिसले सामान्य जानकारीबाट सञ्चालन गर्न सक्दछन् । 

वायु प्रदूषण मापन गर्दा तथ्याङ्कको विशुद्धतामा विशेष ध्यान दिनु पर्दछ । यी उपकरणहरू प्रयोग गर्दा यसले मापन गर्ने तथ्याङ्क ठिक भए नभएको सटिक तथ्याङ्क दिने महँगो वायु प्रदूषण मापन यन्त्रसँग भिडाएर थाहा पाउन सकिन्छ । यस प्रव्रिmयालाई क्यालिब्रेसन भनिन्छ । विश्व बजारमा विगत दस वर्षमा यस प्रक्रियाको पनि गहन अध्ययन भएको र सकारात्मक नतिजा आएको देखिन्छ । 

नेपालमा पनि बिस्तारै यस्ता उपकरणको व्यापकता बढ्दै गएको छ । विभिन्न सङ्घ/ संस्थाले वायु प्रदूषण अध्ययनका लागि यस्तो उपकरणको प्रयोग गर्न थालेका छन् । नेपालमा पहिलो पटक वातावरण विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयले अमेरिकाको ड्युक विश्वविद्यालयको सहायतामा २०२२ देखि नेपालका विभिन्न स्थानमा उपकरण जडान गरी यस्ता उपकरणको क्यालिब्रेसन र कार्य प्रभावकारिता सम्बन्धमा गहन र व्यापक अध्ययन सुरु गरेको छ । वातावरण विज्ञान केन्द्रीय विभागले नेपालको ६५ वटा स्थानमा यस्ता उपकरण जडान गरी वायुमा ती कणहरूको अवस्था मापन गरेको छ । 

नेपालको विभिन्न स्थानमा जडान गरिएको उपकरणबाट आएको तथाङ्कको तुलनात्मक अध्ययनबाट २०२२ को सुक्खा याममा तराईको विभिन्न स्थानको औसत कणको मात्रा काठमाडौँको भन्दा बढी देखिएको छ । वातावरण विभागले प्रकाशित गरेको वायु गुणस्तर प्रतिवेदनमा २०२१ मा पनि काठमाडौँलगायत तराईका विभिन्न स्थानमा सो मात्रा बढी देखाएको थियो । ती उपकरणको अध्ययनले २०२२ मा मनसुन सकिएलगत्तै नेपालको अरू भागको तुलनामा तराईमा ह्वात्तै प्रदूषण बढेको देखाएको छ । तराईमा काठमाडौँको तुलनामा सवारीसाधनको घनत्व कम छ तर प्रायः उद्योग कलकारखाना तराईमा नै अवस्थित छन् । त्यस्तै भारतको पञ्जाव र हरियाणामा कात्तिक, मङ्सिरतिर अवषेश बाली जलाउँदा पनि तराईमा ह्वात्तै प्रदूषण बढेको देखिन्छ । जाडो याममा विशेष गरी तराईमा शरीर न्यानो पार्न पनि खुला रूपमा आगो बाल्ने गरिन्छ । त्यसैले प्रदूषण स्थितिको मापन गरी तराईमा वायु प्रदूषणको प्रभावको अध्ययन गर्न आवश्यक देखिन्छ । साथै तराई केन्द्रित वायु प्रदूषण स्रोत पहिचान अध्ययन र वायु प्रदूषण नियन्त्रण नीतिको टड्कारो आवश्यकता पनि यस अध्ययनले देखाएको छ ।

वायुमा आँखाले देखिने र नदेखिने दुवै किसिमको प्रदूषण हुने भएकोले सही अवस्था आकलनका लागि सही तथ्याङ्क आवश्यक पर्दछ । काठमाडौँ उपत्यकाको तीनै जिल्लाका विभिन्न नगरपालिकामा उपकरणको सहायताले ती कणहरूको अवस्थाको तुलनात्मक अध्ययन गर्न मद्दत पुगेको छ । तीन चार दशक यता भक्तपुर जिल्लाको क्षेत्र काठमाडौँ उपत्यकाको निकै सफा सुन्दर सांस्कृतिक सहरको रूपमा चर्चित हुने गरेको छ तर भक्तपुरभित्रको विभिन्न स्थानको कणहरूको अध्ययन गरिँदा त्यहाँको वायु तीन सहरका विभिन्न स्थान मध्ये तुलनात्मक रूपमा बढी प्रदूषित भएकको पाइएको छ । त्यहाँका सम्बन्धित सरोकारवालाहरू सचेत हुन आवश्यक देखिन्छ । 

सकारात्मक पक्ष सँगै यस्ता उपकरणको केही कमजोरी पनि रहेका छन् । सस्तो भएकाले यसको आयु करिब तीन वर्षको हुन्छ । यसले दिएको तथ्याङ्क सही छ भनेर जाँच्न क्यालिब्रेसन भएको उपकरण चाहिन्छ तर एउटा उपकरण क्यालिब्रेसन भएपछि त्यसलाई एक अर्कासँग भिडाएर तथ्याङ्कको विशुद्धता जाँच्न सकिन्छ । हाम्रो जस्तो अल्पविकसित मुलुक, जहाँ हरेक वर्ष मौसमी रूपमा विभिन्न प्राकृतिक विपत्तिले मुलुकको अर्थतन्त्रमा प्रभाव पारिरहेको हुन्छ, त्यसमा वायु प्रदूषण जस्तो मानव निर्मित विपत्ति पनि जोडिन गएको छ । वायु प्रदूषणको सही आकलन गरेर त्यसको प्रभाव न्यूनीकरण नगर्ने हो भने वायु प्रदूषणबाट हुने रोग तथा मृत्युदर साथै उपचारमा लाग्ने खर्चले सिङ्गो अर्थतन्त्रमा नै प्रभाव पार्ने देखिन्छ । त्यसका लागि बढीभन्दा बढी स्थानमा निरन्तर वायु प्रदूषण मापन गर्नु पर्दछ । जसका लागि यस्ता सस्तो उपकरण (जसले दिएको नतिजाको गुणस्तरीयता सही रूपमा आकलन गरेपछि) निकै उपयोगी साबित हुने देखिन्छ ।

  

Author

हसना श्रेष्ठ